आईपीओ भर्नेकाे संख्यामा नयाँ रेकर्ड, महिला लघुवित्तकाे आईपीओमा करिब ६६ गुणा आवेदन

आईपीओ भर्नेकाे संख्यामा नयाँ रेकर्ड, महिला लघुवित्तकाे आईपीओमा करिब ६६ गुणा आवेदन


बैकिङ्ग समाचार ।

महिला लघुवित्त वित्तीय संस्थाको आईपीओमा २ अर्ब ४६ करोड रुपैयाँ भन्दा धेरैको आवेदन परेको छ । संस्थाको आईपीओ भर्ने अन्तिम दिन बुधबार बेलुकासम्ममा १५ लाख ८० हजार ७८१ आवेदनबाट सो बराबरको शेयर माग गरिएको हो ।

 

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिंग लिमिटेडका अनुसार आईपीओमा २ करोड ४६ लाख ४६ हजार १७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ६५.७२ गुणा बढी हुन आउँछ ।

सबै तथ्यांकहरु प्राप्त भइनसकेकाले यो संख्या थप बढ्न सक्नेछ ।

मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन् ।

महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने फागुन ५ गते अन्तिम दिन थियो ।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

निष्काशन गरिएको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन खुलाइएको थियो ।