महिला लघुवित्तको आइपिओ भर्ने आज अन्तिम दिन

महिला लघुवित्तको आइपिओ भर्ने आज अन्तिम दिन


बैकिङ्ग समाचार ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गते, शुक्रबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) मा आवेदन दिने आज (फागुन ४ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।

सोमबार बेलुका ५ बजेसम्ममा १२ लाख १ हजार ८ सय ९० जना आवेदकले १ अर्ब ८५ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख ३५ हजार एक सय कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणको लागि माग गरिएकाे  ३ लाख ७५ हजार कित्ता भन्दा ४९.४२ गुणा धेरै आवेदन हाे ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आजसम्म मात्र आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।