महिला लघुवित्तको आईपीओमा आवेदन खुल्यो, यस्तो छ कम्पनी रिभ्यु

महिला लघुवित्तको आईपीओमा आवेदन खुल्यो, यस्तो छ कम्पनी रिभ्यु


बैकिङ्ग समाचार ।

महिला लघुवित्तले आज माघ ३० गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको छ । बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्  । 

 आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि दिन सकिने छ । तर आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने र १० कित्ता भन्दा बढी शेयर पर्ने सम्भावना नरहेकोले १० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु उपयुक्त नहुन सक्छ  । कम्पनीको आईपिओमा फागुन ५ गतेसम्म आवेदन दिन सकिने छ ।

आज माघ ३० गते सार्वजनिक बिदा परे पनि आईपिओ बिक्रि खुला हुन लागेको हो । सार्वजनिक विदाको दिन पनि आईपिओको बिक्रि खुला भएको यो नै पहिलो पटक हो । कम्पनीको आईपिओ बिक्रि खुला रहने अवधिमा २ दिन सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने छ । 

कम्पनीले शेयर निष्काशनको लागि माघ ८ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्ने छ । कम्पनीले आइपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । लघुवित्तले आरटिएसमा पनि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई चयन गरिसकेको छ ।

लाभांशबारे प्रस्ताव 

कम्पनीले आफ्नो नाफा नोक्सान बाँडफाँड हिसाव खातामा आर्थिक वर्ष ७८/७९ र ७९/८० मा क्रमश २ करोड ४८ लाख र ३ करोड ९४ लाख बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ति आर्थिक वर्षहरुमा आफ्नो शेयर पुँजी १० करोड नै रहनेप्रक्षेपण गरेकोले उक्त लाभांश नगद लाभांश हुने देखिन्छ ।  जुन प्रतिशतको आधारमा क्रमश २४.८५ प्रतिशत र ३९.४१ प्रतिशत हुन आउँछ । कम्पनीले भविष्यमा प्रचलित ऐन र नेपाल धितोपत्र बोर्डको प्रचलित बोनस शेयर निष्काशन सम्बन्धी व्यवस्था अनुसार बोनस शेयर जारी गर्न सक्ने उल्लेख गरेको छ ।