बैकिङ्ग समाचार ।
अजोड इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७५ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. २ करोड ३१ लाख ८२ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४ करोड ६ लाख ८३ हजार पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी ६४ प्रतिशतले वृद्धि भएकाले नाफा बढेको हो ।
चुक्तापूँजी रू. १ अर्ब रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ६ करोड ६३ लाख सञ्चित गरेको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६८ करोड २३ लाख बीमाशुल्क आर्जन गरेको छ ।
यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ६७ प्रतिशतले वृद्धि हो ।कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ४० करोड ६५ लाख बीमाशुल्क आर्जन गरेको छ ।
उक्त अवधिसम्ममा कम्पनीले जारी बीमालेखको संख्या ७१ हजार ३०७ र नविकरण गरिएको बीमालेखको संख्या ६ हजार ६५ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव १३, मूल्य आम्दानी अनुपात ८२ दशमलव ९० र प्रतिशेयर नेटवर्थ रू. ११५ दशमलव ६४ पुगेको छ ।
प्रतिक्रिया