इन्भेष्टमेन्ट बैंकको नगद लाभांश वितरण

इन्भेष्टमेन्ट बैंकको नगद लाभांश वितरण


बैकिङ्ग समाचार ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ३४ औं वार्षिक साधारण सभाले पारित गरेको ५.५० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि बुकक्लोजको अघिल्लो दिनसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका लगानीकर्ताको नेपाल क्लियरिङ्ग हाउसको आईपीएस मार्फत बैंक खातामा उक्त नगद लाभांश जम्मा गरेको हो ।

बैंकको माघ ८ गते, बिहीबार सम्पन्न भएको ३४ औं वार्षिक साधारण सभाले पारित गरेको ५.५० प्रतिशत नगद लाभांश बुकक्लोजको अघिल्लो दिन अर्थात पुस २१ गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको बैंकले जनाएको छ । सो मिति पश्चात बैंक खाता अद्यावधिक गराएका लगानीकर्ताहरुलाई पनि क्रमश लाभांश वितरण गर्दै जाने कम्पनीले जनाएको छ ।

यसैगरी हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्र अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई यथाशीघ्र शेयर अभौतिकिकरण गरी आफ्नो लाभांश प्राप्त गर्न बैंकले आग्रह गरेको छ ।

शेयर धितो राखेका शेयरधनीहरुले भने लाभांश पाउन सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

बैंकको सोही साधारण सभाबाट पारित बोनस शेयर भने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेप्सेमा सूचीकरण पश्चात बुकक्लोजको अघिल्लो दिनसम्म कायम लगानीकर्ताले पाउनेछन् । कागजी शेयर धारण नगरेका लगानीकर्ताहरुको बोनस शेयर पनि सिधै डिम्याट खातामा नै जम्मा हुनेछ ।