निर्धन उत्थान लघुवित्तको खराब कर्जा बढ्दा खुद नाफामा भारी गिरावट

निर्धन उत्थान लघुवित्तको खराब कर्जा बढ्दा खुद नाफामा भारी गिरावट


बैकिङ्ग समाचार ।

निर्धन उत्थान लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ७१ लाख ९३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ४० करोड ४१ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको लघुवित्तको खुद नाफा ८५.८४ प्रतिशतले घटेको हो ।

कम्पनीको खराब कर्जा अनुपात उच्च रुपमा वृद्धि हुँदा खराब कर्जा नोक्सानी व्यवस्था रकम ह्वातै बढेकाले लघुवित्तको नाफामा उच्च गिरावट आएको हो ।

गत आवको यसै अवधिमा १.५३ बाट बढेर १५.१५ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै लघुवित्तले प्रोभिजनमा ८१ करोड २ लाख रुपैयाँ व्यवस्था गर्दा लघुवित्तको सञ्चालन नाफा ९ करोड ७ लाखमा सीमित भएको हो । गत आवको यसै अवधिमा लघुवित्तले ६३ करोड ९८ लाख ४४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

कोरोनाका संक्रमण कारण संस्थाको कारोबार, नगद प्रवाह लगायतमा असर तथा नेपाल राष्ट्र बैंकले नेपाली नागरिकता नभएका नागरिकलाई प्रवाहित कर्जामा नोक्सानी व्यवस्था गर्न लगाउँदा समेत लघुवित्तको प्रोभिजनिङ्ग उच्च रुपमा बढेको हो ।

पुससम्मा लघुवित्तले १४ अर्ब ७० करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन तथा ६ अर्ब ४७ करोड रुपैयाँ सापटीबाट २२ अर्ब ९४ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले १ अर्ब ३ करोड ९८ लाख ५५ हजार खुद ब्याज आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी ७.६३ रुपैयाँमा खुम्चिएको छ । गत आवको यसै अवधिमा ५३.८९ रुपैयाँ रहेको थियो । जगेडा कोषमा २ अर्ब ८८ करोड ९३ लाख ४ हजार रुपैयाँ सञ्चित राखेको कम्पनीको प्रतिशेयर नेटवर्थ २९२.६२ रुपैयाँ छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १७६.२५ गुणा पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले जगेडा कोष ९१ प्रतिशत, निक्षेप संकलन १९, कर्जा लगानी ११, खुद ब्याज आम्दानी १५.२७ प्रतिशतले बढेको हो । गत आवको नाफाबाट १३ प्रतिशत बोनस प्रस्ताव गरेपनि पूँजीकरण नगरेकाले लघुवित्तको चुक्ता पूँजी स्थीर रहेको छ ।