शेयर बजार ३७.४८ अंकले बढ्दा १० अर्ब ६१ करोडको कारोबार

शेयर बजार ३७.४८ अंकले बढ्दा १० अर्ब ६१ करोडको कारोबार


बैकिङ्ग समाचार । 

साताको दोस्रो कारोबार दिन शेयर बजारमा बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । निरन्तर बजार बढेपनि बैंकिङ सेक्टर भने बढ्न सकेको थिएन । 

बजारमा सर्वाधिक हिस्सा ओगटेको बैंकिङ समूहको परिसूचक सोमवार सर्वाधिक ३ दशमलव ६५ प्रतिशत बढेको छ । यसदिन बैंकिङ समूहको परिसूचक ६२ दशमलव ७२ अंक बढेर १ हजार ७७९ दशमलव २७ विन्दुमा पुगेको हो । 

यसदिन समग्र शेयर बजार भने ३७ दशमलव ४८ अंक अर्थात् १ दशमलव ४८ प्रतिशत बढेर २ हजार ५६१ दशमलव ४७ विन्दुमा पुगेको छ । २  हजार ५५३ दशमलव ७९ विन्दुदेखि खुलेको सोमवारको बजार २ हजार ५६३ दशमलव ३० विन्दुसम्म पुगेको थियो भने २ हजार ५३८ दशमलव ८३ विन्दुसम्म झरेको थियो । यो दिन ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने ७ दशमल २८ अंक अर्थात् १ दशमलव ५८ प्रतिशत बढेर ४६६ दशमलव ६० विन्दुमा पुगेको छ ।

यसदिन कारोबार रकमको उच्चता कायमै रहेको छ । आइतवार हालसम्मकै उच्च रू. १० अर्ब ४४ करोड १९ लाख ५१ हजार बराबरको शेयर कारोबार भएकोमा सोमवार उक्त रेकर्डलाई तोड्दै रू. १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार बराबरको शेयर कारोबार भएको हो ।

सोमवार २०६ कम्पनीको ९२ हजार ७९ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ११ लाख ५५५ कित्ता शेयर कारोबार भएको हो ।पूर्ण प्रविधिमैत्री धितोपत्र दोस्रो बजार अहिले लगानीकर्ताको हातबाटै कारोबार गर्न सक्ने अवस्थामा छ । नेप्सेका अनुसार ३ लाख २७ हजारभन्दा बढीले अनलाईन युजरनेम र पासवर्ड लिएका छन् । ८० प्रतिशतभन्दा बढी कारोबार अनलाईनमार्फत् हुदैं आएको छ । स्वविवेकले आफ्नै हातबाट कारोबार गर्न सक्ने अवस्थाका कारण बजारमा लगानी बढीरहेको नेप्सेको भनाइ छ । 

सोमवार प्रभु बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको रू. ६२ करोड १३ लाख ५३ हजार बराबरको १३ लाख ४६ हजार ३३० कित्ता शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि ९ दशमलव १७ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ४७६ कायम भएको छ । यो दिन उक्त कम्पनीसहित  नबिल बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक र नेपाल बैंक पनि सर्वाधिक कारोबार गर्ने १० ओटा कम्पनीभित्र परेका छन् ।

यसदिन ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९२ प्रतिशत बढेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९८ ले बढेर अन्तिम मूल्य रू. १ हजार ८६ कायम भएको हो । दोहोरो उच्च अंकले बढेको बजारमा हिमालयन उर्जा विकास कम्पनी र उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।

हिमालयन उर्जा विकास कम्पनीको ६ दशमलव ७८ प्रतिशत अर्थात प्रतिकित्ता रू. १६ ले र उन्नती सहकार्य लघुवित्तको ६ दशमलव ३७ प्रतिशत अर्थात प्रतिकित्ता रू. १६३ ले मूल्य घटेको हो । यस दिन हिमालयन उर्जाको अन्तिम शेयरमूल्य रू. २२० र उन्नती सहकार्यको रू. २ हजार ३९५ कायम भएको हो ।

बैंकिङ समूहको परिसूचकमा उछाल आउँदा सोमवार उत्पादन तथा प्रशोधनको १ दशमलव २१ प्रतिशत, जलविदुत र निर्जीवन बीमा समूहको शून्य दशमलव ९८ प्रतिशत, लघुवित्तको शून्य दशमलव ६८ प्रतिशत र व्यापारिक समूहको शून्य दशमलव १३ प्रतिशत परिसूचक घटेको छ ।

यसदिन विकास बैंकको ३ दशमलव ४७ प्रतिशत, वित्तको २ दशमलव शून्य १ प्रतिशत, होटलको १ दशमलव ३८ प्रतिशत, जीवन बीमाको १ दशमलव १३ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ९९ प्रतिशत र अन्यको शून्य दशमलव ४७ प्रतिशत परिसूचक बढेको छ ।