नबिल बैंकको २ अर्बको ऋणपत्र बिक्रीमा आउँदै, ब्याज कति ? 

नबिल बैंकको २ अर्बको ऋणपत्र बिक्रीमा आउँदै, ब्याज कति ? 


बैंकिङ्ग समाचार ।
नबिल बैंकले चैत २ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको उक्त ऋणपत्रमा बार्षिक १० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल दुई अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिने बैंकले जनाएको छ ।

सर्वसाधारणका लागि निस्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। चैत्र २ गतेदेखि बिक्रीमा आउने सो ऋणपत्रमा छिटोमा चैत ५ गते र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सकिनेछ।

बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ। 

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।