शेयर बजारमा हालसम्मकै उच्च कारोबार, नेप्से ४८ अंकले बढ्दा १० अर्ब नाघ्यो कारोबार

शेयर बजारमा हालसम्मकै उच्च कारोबार, नेप्से ४८ अंकले बढ्दा १० अर्ब नाघ्यो कारोबार


बैकिङ्ग समाचार ।

शेयर बजारमा माघ २५ गते आइतबार हालसम्मकै उच्च कारोबार भएको छ । आइतबार एकैदिन दश अर्ब धेरै रकमको कारोबार भएको हो ।

नेप्सेका अनुसार आइतबार १० अर्ब ४४ करोड १९ लाख ५१ ह्जार ३०४ रुपैयाँको शेयर कारोबार भएको छ । यो रकम हालसम्मकै उच्च रकम हो । यसअघि माघ १५ गते बिहीबार एकैदिन ८ अर्ब ८९ करोड बढीको शेयर कारोबारमा आएको थियो ।

आइतबार कारोबारसँगै नेप्से परिसूचकले नयाँ अलटाइम हाइको नयाँ रेकर्ड बनाएको छ । शेयर बजार परिसूचक र कारोबार रकमले पुराना रेकर्ड तोड्दै जाँदा लगानीकर्ताहरू थप उत्साहित बन्दै गएका छन् । तर अर्थतन्त्रको दिशा विपरित शेयर बजारमा एकोहोरो आएको वृद्धि धेरै टिकाउ नहुने जानकारहरु बताउँछन् ।

यस्तो अवस्थामा व्त्तिीय सूचकमा बलिया र शेयरमूल्य कम भएका कम्पनीको शेयरमा लगानी गर्न विज्ञहरुको सुझाव छ । धेरै शेयरमूल्य बढेका कम्पनीको शेयरमा जोखिम पनि उत्तिकै हुने भएकाले आफ्नो जोखिम क्षमता हेरेर मात्र लगानी गर्नुपर्ने उनलको मत छ ।

आइतबार नेप्से ४८.७४ अंकले बढेर २ हजार ५२४ बिन्दुमा पुगेको छ । आज २०२ कम्पनीका १ करोड ७७ लाख ३६ लाख ७३४ कित्ता शेयर ८७ हजार ६७० पटक खरीद बिक्री भए ।

लघुवित्तमा उच्च आकर्षण देखिएको आइतबारको बजारमा बैंकिङ्ग, विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै उपसमुहका सूचक बढेका छन् ।

आज हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै ५३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ र शिखर इन्स्योरेन्सको पनि ३१ करोड धेरैको शेयर खरीद बिक्री भएको छ ।

आइतबारको बजारमा शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीमा आठ कम्पनी लघुवित्त रहेका छन् । नागरिक लगानी कोष र मञ्जुश्री फाइनान्स पनि शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीभित्र समेटिएका छन् । आज ३६ कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ ।

उता नेपाल फाइनान्सले हकप्रद शेयर सूचीकृत गरेसँगै फाइनान्सको शेयरमूल्य ६.२७ प्रतिशतले घटेर २९९ मा झरेको छ । ङादी ग्रुप पावर, सनराइज फस्ट, नाराणयी डेभलपमेन्ट बैंकको पनि शेयरमूल्य घटेको छ ।