नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ डिम्याट खातामा जम्मा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ डिम्याट खातामा जम्मा


बैकिङ्ग समाचार ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । बैंकको आईपीओ शुक्रबार साँझ लगानीकर्ताहरुको खातामा जम्मा गरिएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेले बैंकको शेयर एनआइएफआरए (NIFRA) संकेतमा डिम्याट खातामा जम्मा गरेको छ । यससँगै बैंकको शेयर यहि कारोबार संकेतमा नेप्सेमा कारोबाररमा आउनेछ । बैंकको आईपीओ अब नेप्सेमा सूचीकृत भएपछि त्यसको भोलिपल्टबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

बैंकको आईपीओ शेयर लगानीकर्ताको खातामा जम्मा भएपनि नेप्सेमा कारोबारका लागि सूचीकरण हुन बाँकी नै रहेको छ । बिहीबारको आम हड्ताल र शुक्रबारको नेकपाको शक्ति प्रदशनका कारण बैंकको आईपीओ सूचीकरणमा ढिलाई भएको बताइएको छ ।

बैंकले यहि माघ २ गते देखि माघ ६ गते मंगलबारसम्म आपीओ निष्काशन गरेको थियो । जसमा १० देखि ५० कित्तासम्म शेयर माग गर्ने आवेदकलाई माग अनुसार नै शेयर पाएका थिए भने ५० देखि धेरै शेयर माग गर्ने लगानीकर्ताहरुबाट ४ लाख ९२ हजार ७२ जनालाई गोलाप्रथाबाट थप १० कित्ता गरी ६० कित्ता शेयर प्राप्त गरेका थिए ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये१ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, र ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि बाँडफााड गरिएको थियो ।

  • कतिमा खुल्छ पहिलो कारोबार ?

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज प्रदान गर्दा कम्पनीले सूचीकरणका लागि पेश गरेको कागजातको पछिल्लो लेखापरिक्षण प्रतिवेदनमा उल्लेख रहेको प्रतिशेयर नेटवर्थलाई आधार मान्ने गरेको छ । नेप्सेले कारोबार रेञ्ज तोक्दा कम्पनीको प्रतिशेयर नेटवर्थलाई न्यूनतम र सो मूल्यको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको गत आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ११३.६२ रुपैयाँ छ । यस अनुसार बैंकको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ११३.६२ रुपैयाँदेखि अधिकतम ३४०.८६ रुपैयाँसम्म कारोबार रेञ्ज प्रदान गर्नेछ ।

यसअनुसार अधिकतम कारोबार रेञ्जमा खुला भए बैंकको पहिलो कारोबार ३४० रुपैयाँसम्म खुल्न सक्नेछ । यद्यपी कारोबार रेञ्जभित्र नेप्सेमा सूचीकरण भएको दोसे दिनमा स्पेशल प्रि-ओपन सेसनमा जति मूल्यमा पनि पहिलो कारोबार खुल्छ सोही अनुसार हरेक कारोबार २ प्रतिशत र प्रतिदिन १० प्रतिशतसम्म घटबढ भई नियमित कारोबारमा आउने गर्दछ ।