बैकिङ्ग समाचार ।
नेपाल धितोपत्र बोर्डले रुरु जलविद्युत परियोजनालाई सर्वसाधारणमा प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार २५ गते निवेदन दिएको थियो । आवेदन दिएको ७ महिनामा कम्पनीले शेयर जारी गर्न अनुमति पाएको हो ।
कम्पनीले माघ २१ गते प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका कुल ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।
अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गर्नेछ । स्थानीयलाई शेयर जारीपछि दोस्रो चरणमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।
सर्वसाधारणमा जारी गर्ने शेयर प्रिमियम मूल्यमा जारी गर्ने भएपनि कम्पनीले स्थानीय बासिन्दाका लागि भने अंकित मूल्य (१००) रुपैयाँमा नै शेयर जारी गर्नेछ । कम्पनीले जारी पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँको २० प्रतिशत शेयर जारी गर्न लागेको हो । जसमध्ये १० प्रतिशत शेयर स्थानीय बासिन्दाका लागि र १० प्रतिशत शेयर सर्वसाधारणमा जारी हुनेछ ।
आईपीओ निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा तोकेको छ ।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड-३ रेटिङ प्रदान गरेको छ । कम्पनीले आईपीओले पाएको ग्रेड ३ रेटिङले कम्पनीको वित्तीय अवस्था अधारभुत पक्ष औषतमा राम्रो भएको देखाउँछ ।
प्रतिक्रिया