नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा १२.५४ प्रतिशत घट्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा १२.५४ प्रतिशत घट्यो


भर्खरै मात्र हालसम्मकै सबैभन्दा ठूलो आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

आईपीओको आठ अर्ब रकम पूँजीकृत गर्न बाँकी रहेको बैंकको नाफा घटेसँगै प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। बैंक ब्याजदर घटेको असर बैंकको मुनाफामा देखिएको छ । बैंकको प्रमुख आम्दानी ब्याज आम्दानी घटेपछि नाफा घटेको हो । 

चालु आवको दोस्रो त्रैमाससम्म बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५४ प्रतिशत कम हो।

गत आर्थिक वर्ष सोही अवधिमा बैंकले ४० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २७ करोड ६० लाख रूपैयाँ रहेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको नाफामा गिरावट आएको हो। नाफा घट्दा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७१ पैसाबाट ५ रुपैयाँ ८७ पैसामा झरेको छ । भर्खरै आठ अर्बको आईपीओ जारी गरेको बैंकको शेयर पूँजीकृत हुन बाँकी नै छ । यसपछि बैंकको प्रतिशेयर आम्दानी झनै कमजोर हुनेछ ।

बैंकको चुक्ता पूँजी पुस मसान्तसम्ममा १२ अर्ब रुपैयाँ रहेको छ। आईपीओ पूँजीकृतपछि २० अर्ब पुग्नेछ । सो अवधिसम्ममा बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा बैंकले ३४ करोड निक्षेप सङ्कलन गरी एक अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसका साथै बैंकले १३ अर्ब ४३ करोड रूपैयाँ बैंकहरूमा निक्षेप लगानी गरेको छ। यसबापत बैंकले ५६ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७२ प्रतिशत कम हो।

त्यसैगरी, पुस मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा ५० करोड ३५ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३२ प्रतिशत कम हो।