बीमा समितिको अध्यक्षमा पूर्व सचिव सिलवाल नियुक्त

बीमा समितिको अध्यक्षमा पूर्व सचिव सिलवाल नियुक्त


बैकिङ्ग समाचार ।

सरकारले बीमा समितिको अध्यक्षमा पूर्व सचिव सुर्य प्रसाद सिलवाललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले सिलवाललाई अध्यक्ष नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुने छ । 

बीमा समितिका अध्यक्षका लागि अर्थमन्त्री बिष्णु पौडेलले उनीसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए । ती मध्येबाट सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।

सिलवालले उद्योग मन्त्रालय, गृह मन्त्रालयको सचिवमा रहेर काम गरेको अनुभव छ ।

यसअघिका अध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकाल सकिएपछि बीमा समितिको अध्यक्ष पद गत पुस २३ गतेदेखि रिक्त थियो ।

बीमा समितिको नयाँ अध्यक्ष बन्नका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीदेखि नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेलसम्म अध्यक्षको आकांक्षी थिए। त्यस्तै, राष्ट्र बैंकबाट अवकाश प्राप्त कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला, चार्टर्ड एकाउन्टेट टंक पनेरु, पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं पनि अध्यक्षको दौडधुपमा लागि परेका थिए।

त्यस्तै, समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान कार्की, समिति सञ्चालक समिति सदस्य कपिलदेव सुवेदी र निवर्तमान अध्यक्ष चापागाँई समेत अध्यक्षको दौडधुपमा थिए तर सरकारले पूर्व सचिव सिलवाललाई विस्वास गरेको छ ।