इन्भेष्टमेन्ट बैंकको ऋणपत्र आवेदनको म्याद लम्बियो

इन्भेष्टमेन्ट बैंकको ऋणपत्र आवेदनको म्याद लम्बियो


बैकिङ्ग समाचार ।

नेपाल इन्भेष्टमेन्ट बैंकले माघ १६ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा छोटो अवधिमा आवश्यक आवेदन नपरेपछि म्याद लम्बिएको छ । अब बैंकको ऋणपत्रमा माघ ३० गतेसम्म आवेदन भर्न पाइनेछ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको छ।

बैंकले निष्काशन गरेको ४ अर्बको ऋणपत्र मध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता (सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको ८० हजार कित्ता समेत) ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरमा बिक्री गर्नेछ ।

‘नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४’ नामक सात बर्षे अवधिको ऋणपत्रमा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको ब्याज भन्दा बढी ब्याज दिनेगरी ऋणपत्रको बिक्री खुला गरेको हो । बैंकको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाउनेछन् । वाणिज्य बैंकहरुले निक्षेपकर्तालाई १ वर्षको ६ देखि अधिकतम ८ प्रतिशत ब्याज दिँदै आएका छन् भने बचतको व्याजदर औसतमा २ प्रतिशत छ ।

बैंकको ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले माघ १६ देखि छिटोमा माघ २० गते मंगलबारसम्म आवेदन दिन पाउनेछन् । निष्काशित सबै ऋणपत्र बिक्री नभएको खण्डमा भने ऋणपत्रको निष्काशन ढिलो मिति अर्थात माघ ३० गतेसम्म खुला रहने ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङले जनाएको छ । उक्त ऋणपत्र २०८४ सालमा परिपक्व हुनेछ ।

ऋणपत्र खरीदका लागि कम्तिमा २५ कित्ताका लागि २५ हजार रुपैयाँदेखि २ लाख ५० हजार कित्तासम्मका २५ करोड रुपैयाँसम्मको आवेदन दिन सकिनेछ ।ऋणपत्र निष्काशनका लागि बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर १८ गते अनुमति दिएको थियो।

बैंकले यसअघि बिक्री गरेको ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र आगामी वर्ष र २ अर्ब रुपैयाँ बराबरको अर्कोऋणपत्र २०८२ सालमा परिपक्व हुनेछ।