नबिल बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब ८४ करोड, प्रतिशेयर आम्दानीमा गिरावट

नबिल बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब ८४ करोड, प्रतिशेयर आम्दानीमा गिरावट


बैकिङ्ग समाचार ।

नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ। ३३ प्रतिशतले चुक्ता पूँजी बढाएको बैंकको नाफा घट्दा प्रतिशेयर आम्दानीमा गिरावट आएको छ ।

बैंकले पुस मसान्तसम्म २ अर्ब १ करोड ६० लाख खुद नाफा गरेको छ । बैंकको नाफा १.२७ प्रतिशतले घटेको हो । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी साढे ९ प्रतिशतले घटेर ३ अर्ब १२ करोड २६ लाख रुपैयाँमा खुम्चिएकोे छ। बैंकको सञ्चालन मुनाफा १.४० प्रतिशतले घटेर २ अर्ब ८६ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ८४ करोड २८ लाख रुपैयाँ रहेको छ।

पुसमसान्तसम्म २ खर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ७० अर्ब ५२ करोड कर्जा परिचालन गरेको छ । बैंकको निक्षेप करिब ५ प्रतिशत तथा कर्जा १५ प्रतिशत धेरैले बढेको छ । बैंकको निष्क्रिय कर्जा सो अवधिसम्ममा ०.७५ प्रतिशतबाट घटेर ०.६० प्रतिशत झरेकोे छ।

३३ प्रतिशत बोनस बाँडेर १३ अर्ब ४८ करोड चुक्ता पूँजी पुर्याएको बैंकको जगेडा कोषमा १५ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४५ रुपैयाँ १६ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ४० रुपैयाँ ७१ पैसामा झरेको छ। खुद नाफा घटेका कारण बैंकको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। बैंकको मूल्य आम्दानी अनुपात ३७.८५ गुणा रहेको छ।