सानिमा बैंकले सार्वजनिक गर्यो निराशाजनक वित्तीय विवरण, खुद नाफा ७.३८ प्रतिशतले घट्यो

सानिमा बैंकले सार्वजनिक गर्यो निराशाजनक वित्तीय विवरण, खुद नाफा ७.३८ प्रतिशतले घट्यो


बैकिङ्ग समाचार ।

सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लगानीकर्तालाई निराश तुल्याउनेगरी अधिकांस सूचक ओरालो लागेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आवको पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ ।

बैंकले तुलनात्मक रुपमा निक्षेप विस्तार गर्न सकेको देखिदैन् । कर्जा लगानी बढाए पनि बैंकको ब्याज आम्दानी घटेको छ भने संचालन खर्च बढेको देखिन्छ ।

बैंकले चालु आवको ६ महिनाको अवधिमा १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३८ प्रतिशत कम हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको वितरणयोग्य नाफा ८९ करोड २६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप २.७९ प्रतिशतले १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने कर्जा ११.८८ प्रतिशत बढेर १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। बैंकको निक्षेप वृद्धिको अनुपात कमजोर देखिन्छ। जसले गर्दा बैंकको कर्जा निक्षेप अनुपात ८१ प्रतिशत बढी छ । कर्जा विस्तारसँगै बैंकको खराब कर्जा समेत ०.४१ प्रतिशतबाट बढेर ०.५८ प्रतिशत पुगेको छ।

गत आवको पुसको तुलनामा चालु आवको पुसमसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७.९८ प्रतिशत घटेर १ अर्ब ९९ करोड रुपैयाँमा खुम्चिएको छ भने सञ्चालन मुनाफा ७.२८ प्रतिशत घटेर १ अर्ब ५० करोड रुपैयाँमा झरेको छ।

चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ६८ लाख रुपैयाँ र शेयरधनी कोषमा ८९ करोड २६ लाख रुपैयाँ सञ्चित छ। बैंकको चुक्ता पूँजी १० प्रतिशले बढ्दा जगेकोषमा ६ प्रतिशत बढीको सुधार देखिएको छ । तर, शेयरधनीकोषमा २५ प्रतिशत धेरैको गिरावट छ । जसले गर्दा बैंकको लाभांश क्षमता ह्रास आएको छ ।

बैंकको आधारदर ९.२९ प्रतिशतबाट ६.८३ प्रतिशतमा झरेको छ भने स्प्रेड ५.०४ बाट ४.२१ प्रतिशतमा झरेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७ पैसाबाट घटेर २१ रुपैयाँ ९६ पैसामा सीमित भएको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ २८ पैसा तथा मूल्य आम्दानी अनुपात १६.७६ गुणा छ।