२४४०.८७ विन्दुमा नेप्से परिसूचक, नागरिक लगानी कोषको शेयरमूल्यमा उच्च वृद्धि

२४४०.८७ विन्दुमा नेप्से परिसूचक, नागरिक लगानी कोषको शेयरमूल्यमा उच्च वृद्धि


बैकिङ्ग समाचार । 

सोमवार नेप्से परिसूचक १६ दशमलव शून्य ४ अंक बढेर २ हजार ४४० दशमलव ८७ विन्दुमा पुगेको छ ।

यो दिन सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव २४ अंक घटेर ४५१ दशमलव ८२ विन्दुमा झरेको छ । आइतवार ५० दशमलव २० अंकले बढेर २ हजार ४२४ दशमलव ८४ विन्दुमा बन्द भएको बजार सोमवार २ हजार ४४७ दशमलव शून्य २ विन्दुदेखि खुला भएको हो । यस दिन बजार २ हजार ४५५ दशमलव ३३ विन्दुसम्म पुगेको थियो ।

आइतवार ऐतिहासिक रेकर्ड कायम गर्दै रू. ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार बराबरको शेयर कारोबार भएकोमा सोमवार कारोबार रकम भने कम भएको छ । यो दिन रू. ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार बराबरको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर कारोबार भएको हो ।

यो कारोबार २०८ ओटा कम्पनीको ७२ हजार ७७३ पटकको व्यापारमा भएको हो ।कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । उक्त कम्पनीको रू. ६० करोड ३७ लाख ४० हजार बराबरको शेयर कारोबार भएको हो ।

कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलवार अन्तिम दिन रहेको छ । सोमवार कम्पनीको शेयरमूल्य स्थिर रही अन्तिम मूल्य रू. २ हजार ८४९ कायम भएको छ ।

यस दिन नेप्से परिसूचक बढेपनि कारोबारमा आएका १२ ओटा समूहमध्ये पाँच ओटा समूहको मात्र परिसूचक बढेको छ भने सात ओटा समूहको परिसूचक घटेको छ । व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव १४ प्रतिशतले बढेको छ भने बैंकिङको १ दशमलव ३९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६८ प्रतिशत, अन्यको १ दशमलव ६३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४२ प्रतिशत बढेको छ । 

यस दिन होटल समूहको १ दशमलव १८ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८१ प्रतिशत, जलविद्युतको शून्य दशमलव १८ प्रतिशत, वित्तको शून्य दशमलव ५८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३ प्रतिशत, लघुवित्तको १ दशमलव २१ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ५२ प्रतिशत परिसूचक घटेको हो ।

सोमवार नागरिक लगानी कोषको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । कोषको शेयरमूल्य प्रतिकित्ता रू. ३७९ ले बढेर अन्तिम मूल्य रू. ४ हजार १६९ पुगेको हो । यस दिन गुराँस लघुवित्तको शेयरमूल्य ९ दशमलव ९५ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ८७ प्रतिशत, माउण्टेन इनर्जीको ९ दशमलव ८१ प्रतिशत, नेशनल हाइड्रोपावरको ९ दशमलव ४० प्रतिशत र हिमालयन पावर पार्टनरको ९ दशमलव ३८ प्रतिशत शेयरमूल्य बढेको छ ।

सोमवारको बजारमा श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको शेयरमूल्य सर्वाधिक ६ दशमलव ९८ घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १८ ले घटेर अन्तिम मूल्य रू. २४० मा झरेको हो ।