करेक्शनपछि ऐतिहासिक उचाइमा शेयर बजार, झनै उत्साहित लगानीकर्ता

करेक्शनपछि ऐतिहासिक उचाइमा शेयर बजार, झनै उत्साहित लगानीकर्ता


बैकिङ्ग समाचार ।

लगातार आठ कारोबार दिन बढेको शेयर बजारमा नवौं दिन सामान्य करेक्सशन आएपनि दशौं दिन पुन उकालो लागेको छ । बुधबार नेप्से सूचक दोहोरो अंकले बढ्दा हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बुधबारको कारोबारमा शेयर बजार सूचक नेप्से १५.८७ अंकले बढेर हालसम्मकै उच्च २३४२.७६ बिन्दुमा पुगेको छ । यसअघि सोमबारको कारोबारमा २३३२.३२ बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको नेप्सेले बुधबार फेरी रेकर्ड तोडेको हो ।

नेप्से सूचक बढेपनि यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन २११ कम्पनीको ५३ हजार ३३४ पटकको कारोबारमा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार रुपैयाँ बराबरको १ करोड ५९ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो दिन करिब साढे ७ अर्बको शेयर खरिदबिक्री भएको थियो।

नेप्सेले ऐतिहासिक उचाइ हासिल गर्दा सबैभन्दा बढी फाइनान्स र बीमा कम्पनीहरुको शेयर मूल्य बढेको छ । सात वटा समूह सकारात्मक रहेको बजारमा ६ समूहका सूचक नकारात्मक रहेका छन् ।

यसदिन फाइनान्स समूहको परिसूचक ४.२६ प्रतिशतले बढेको छ भने जीवन बीमा समूहको परिसूचक ४.६७ प्रतिशतले बढ्यो । जलविद्युत समूहमा ३.०५ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ, व्यापार, होटल, म्यानुफ्याक्चरिङ र अन्य समूहका परिसूचक घटेका छन् । सबैभन्दा बढी होटल समूहको सूचक घटेको छ ।

बुधबारको कारोबारमा १५ कम्पनीहरूको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।बेस्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, कर्णाली डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड लगायतका कम्पनीहरूको शेयर मूल्यमा उच्च वृद्धि भएको हो ।

यस दिन विशाल बजार कम्पनी, कामना सेवा विकास बैंक, सिभिल लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्य धेरै घटेको छ।

सबैभन्दा बढी शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । ६१ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको कम्पनीको मूल्य २ हजार ८ सय ८५ रुपैयाँ पुगेको छ। त्यस्तै प्रभु बैंक, पुनर्बीमा कम्पनी, एनआईशी एशिया बैंक र नेपाल टेलिकमको पनि उच्च कारोबार भएको छ ।