पुस मसान्तसम्म पाँच ओटा विकास बैंकले सम्पन्न गरे वार्षिक साधारण सभा

पुस मसान्तसम्म पाँच ओटा विकास बैंकले सम्पन्न गरे वार्षिक साधारण सभा


बैकिङ्ग समाचार ।

पुस मसान्तसम्ममा पाँच ओटा विकास बैंकले वार्षिक साधारण सभा सम्पन्न गरेका छन् । मितेरी डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंकले साधारण सभा सम्पन्न गरेका हुन् । 

चालू आवको तीन महीनाभित्र वार्षिक लेखापरीक्षण सम्पन्न गरी ६ महीनाभित्रमा उक्त प्रतिवेदन वार्षिक साधारण सभामार्फत पारित गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।  

त्यसैगरी, गरिमा विकास बैंक, ज्योति विकास बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकले माघ महीनामा साधारण सभा बोलाएका छन् । गरिमा विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले माघ ३० गते साधारण सभा बोलाएको छ । 

त्यसैगरी, ज्योति विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि माघ १४ गते साधारण सभा बोलाएको छ । 

तिनाउ मिसन डेभलपमेण्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले माघ १५ गते साधारण सभा बोलाएको हो । 

त्यसैगरी, ग्रिन डेभलपमेण्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ दशमलव ८५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

नारायणी डेभलपमेण्ट बैंकले गत आवको वार्षिक प्रतिवेदन पारित गर्न माघ १६ गते साधारण सभा बोलाएको छ । 

हालसम्म पनि अझै सात ओटा विकास बैंकले साधारण सभा बोलाएका छैनन् । कर्पोरेट डेभलपमेण्ट बैंक, एक्सेल डेभलपमेण्ट बैंक, महालक्ष्मी विकास बैंक, सप्तकोशी डेभलपमेण्ट बैंक, सिन्धु विकास बैंक, कर्णाली डेभलपमेण्ट बैंक र सांग्रिला डेभलपमेण्ट बैंकले हालसम्म पनि साधारण सभा बोलाएका छैनन् ।