पुसमा मात्र १३ हजारले बुझे कोरोना बीमाको रकम, एक अर्ब बढी भुक्तानी

पुसमा मात्र १३ हजारले बुझे कोरोना बीमाको रकम, एक अर्ब बढी भुक्तानी


बैकिङ्ग समाचार ।

पछिल्लो महिनामा १३ हजार बढी बीमितले कोरोना बीमाको रकम बुझेका छन् । बीमा समितिका अनुसार पुस महिनामा १३ हजार १२० जना बीमितले बीमा रकम बुझेका हुन् ।

कोरोना बीमावापत पुस महिनामा १३ हजार १२० जना बीमितिलाई एक अर्ब २७ करोड २० लाख ७५ हजार रुपैयाँ भुक्तानी भएको छ । गत पुस १ गतेसम्म कोरोना बीमा गर्ने १२ हजार १९३ जना बीमितले कोरोना बीमाको रकम बुझेका थिए ।

समितिले उपलब्ध गराएको पुस २९ गते बुधबारसम्मको तथ्यांक अनुसार पुस महिनाको अन्त्यसम्म २५ हजार ३१३ जना बीमितले कोरोना बीमाको रकम बुझेका छन् ।

२५ हजार ३१३ दावीवापत दुई अर्ब ४६ करोड २७ लाख ७५ हजार रुपैयाँ भुक्तानी भएको छ । पुस १ गते एक अर्ब १९ करोड ७ लाख रुपैयाँ भुक्तानी भएको थियो ।

पुस २९ गतेसम्म बीमा कम्पनीहरुमा ५१ हजार ७१७ वटा दावी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका २ हजार ७२१ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । तीन हजार ७३९ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार ८ हजार ४० वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् भने एक हजार ७४७ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।

त्यस्तै, १८३ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । तीन हजार ७३९ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ ।