कोरोना भाइरसले सेयर बजारमा ५० खर्ब डलरको क्षति

कोरोना भाइरसले सेयर बजारमा ५० खर्ब डलरको क्षति


एजेन्सी

कोरोना भाइरसको त्रासले शुक्रबार तीव्र गतिमा ओरालो लागेपछि विश्वभरका सेयर बजारले २००८ को वित्तीय संकटपछिकै ठूलो क्षति बेहोरेका छन्। पछिल्लो एक सातामा बजारले ५० खर्ब डलर बराबरको सम्पत्ति गुमाएको छ।

युरोपका बजार ३ देखि ५ प्रतिशतले घटेका छन्। संसारमै सुरक्षित मानिएको अमेरिकी सरकारको ऋणपत्रको मूल्य घटेर पछिल्लो समयको न्यून विन्दुमा आएको छ। चीनबाट सुरू कोरोना भाइरस महिनाभरमै नियन्त्रणमा आउनेछ र आर्थिक गतिविधि पुनः सञ्चालन हुन्छ भन्ने अनुमान गलत साबित भएपछि लगानीकर्ताको मनोबल खस्किएको छ।

अर्को महिना अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याज दर घटाउने र अरू बैंकले पनि त्यसलाई पछ्याउने अनुमान छ। पहिले पनि फेडरल रिजर्भले ब्याज घटाएपछि युरोपेली र अरू केन्द्रीय बैंकले ब्याज घटाउँथे।

'अहिले लगानीकर्ता संकट अझै गहिँरिदै गए के होला भन्ने हिसाबले लगानी गरिरहेका छन्,' एसइआइ इन्भेस्टमेन्टका एसिया प्रमुख जोन लाउले भने, 'अहिले सबभन्दा अनिश्चय समय हो। कसैलाई थाहा छैन भोलि के हुन्छ। त्यसैले सबै आत्तिएका छन्।'

अन्तर्राष्ट्रिय यातायात र आपूर्ति व्यवस्था बिथोलिएको छ, स्कुल-कलेज बन्द गरिएका छन् भने ठूला अन्तर्राष्ट्रिय सम्मेलन स्थगित छन्। अमेरिका-चीनको व्यापार युद्धले विश्व अर्थतन्त्र यसै पनि अप्ठ्यारो अवस्थामा थियो।

झन्डै ५० ठूला देशका सेयर बजार कारोबार मापन गर्ने एमएससिआई परिसूचक शुक्रबार एक प्रतिशतले घटेको छ। वाल स्ट्रिटका ठूला कम्पनीको सेयर मूल्य बिहीबार मात्रै ४.४ प्रतिशत घटेको छ।

युरोपका वायुसेवा तथा ट्राभल कम्पनीको सेयर मूल्य एक सातामा १८ प्रतिशत घटेको छ। जापानबाहेक प्रमुख एसियाली सेयर बजारमा २.६ प्रतिशत गिरावट आएको छ भने जापानी सेयर बजार परिसूचक निक्की ३.७ प्रतिशत ओरालो लागेको छ। जापानमा हुने भनिएको ओलम्पिक खेल पनि स्थगित हुने चर्चा चुलिएको छ।

चीनको सांघाई र सेन्जेन स्टक एक्सचेन्जका परिसूचक क्रमशः ३.५ प्रतिशत र ५ प्रतिशत घटेका छन्। कच्चा तेलको मूल्य साताभरमा १२ प्रतिशत घटेको छ भने धातुको मूल्य पनि कम भएको छ।