शेयर बजारको आकार साढे २९ खर्ब

शेयर बजारको आकार साढे २९ खर्ब


बैकिङ्ग समाचार ।

धितोपत्र दोस्रो बजारको आकार २९ खर्ब ५५ अर्ब ८६ करोड पुगेको छ । पछिल्लो समय धितोपत्र दोस्रो बजारका महत्वपूर्ण सबै सूचकहरू बढेसँगै बजार पुँजीकरणको आकार पनि बढेको छ । शेयर बजारका महत्वपूर्ण सूचकहरू तुलनात्मक रुपमा सकारात्मक देखिएका छन् । गत साता नेप्से परिसूचक २ हजार १९४ दशमलव ४८ विन्दुमा पुगेको छ । अघिल्लो साता शेयर परिसूचक २ हजार ८७ दशमलव २७ विन्दुमा बन्द भएको थियो । 

कारोबारमा नेप्से परिसूचक १०७ दशमलव २१ विन्दु माथि उक्लिएको हो । ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साताभन्दा यो साता २२ दशमलव २२ अंक माथि उक्लिएको छ । गत साताको अन्तिम दिन ३९८ दशमलव ७० विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४२१ दशमलव २२ विन्दुमा पुगेको हो । यो साता साना सँगै ठूला कम्पनीहरुले पनि तुलनात्मक रुपमा नाफा कमाएका छन् । 

पाँच कारोबार दिनमा दोस्रो र तेस्रो दिन बजार घटेको थियो भने बाँकी दिन बढेको थियो । साताको पहिलो दिन ८८ दशमलव १२ अंकले बढेको बजार दोस्रो दिन ६ दशमलव ३६ अंक र तेस्रो दिन ३ दशमलव ५४ अंकले घटेको हो । 

गत साता २२ अर्ब ७६ करोड १६ लाख ३ हजारको शेयर कारोबार भएकोमा यो साता २७ अर्ब १७ करोड २३ लाख १२ हजार बराबरको शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता कारोबार रकम ४ अर्ब ४१ करोड ७ लाख ८ हजार बढी भएको हो । कारोबार रकमसँगै कारोबार कित्ता पनि यो साता गत साताभन्दा १ करोड ३६ लाख ५५ हजार ३९ कित्ता बढी भएको छ । 

गत साताभन्दा यो साता बजारको आकार १ खर्ब ४७ अर्ब ११ करोड ६० लाख २० हजारले बढेको  हो । गत साताको अन्तिम कारोबार दिन बजारको आकार अर्थात कुल बजार पूँजीकरण रकम २८ खर्ब ८ खर्ब ७४ करोड ८० लाख ४५ हजार रहेको थियो । यसरी हेर्दा यो साताको बजारले आम लगानीकर्ताहरुको मनोबल अझ बढाउने संकेत गरेको छ । 

बजारले ऐतिहासिक उचाइ कायम गरिरहँदा अब के होला भन्ने अन्योलता रहे पनि संयम भएर लगानी गर्ने वातावरणको विकास हुँदै गएको देखिन्छ । पुँजीबजार विकास र विस्तारका लागि नियामक निकायले निर्धारित नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिदैं जाँदा लगानीकर्ताहरु पनि यस क्षेत्रप्रति आकर्षित हुदैं गएको देखिन्छ ।

गत साताको तुलनामा यो साता नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स, कारोबार रकम तथा कित्ता र कुल बजार पूँजीकरण जस्ता महत्वपूर्ण सूचकहरु बढेका हुन् । बोर्डले यसै सातादेखि धितोपत्र दोस्रो बजारमा कारोबार गर्दा लाग्ने ब्रोकर कमिसन घटाएको छ । आगामी केहि दिनभित्र राफसाफको अवधि पनि दुई दिनभित्र कायम गर्ने तयारी भएको छ । यी विषयले पनि आगामी दिनमा लगानीकर्ताको मनोबल अझ बढ्ने बलियो सम्भावना देखिन्छ ।
 
यो साता पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीकोे निरन्तर चौथो सातासम्म सर्वाधिक रकमको कारोबार भएको हो । गत सता १ अर्ब ८६ करोड ९० लाख बराबरको शेयर कारोबार भएको कम्पनीको यो साता १ अर्ब ६१ करोड ९० लाख ४७ हजार बराबरको शेयर कारोबार भएको हो । कम्पनीको ५१ प्रतिशत लाभांश प्रति लगानीकर्ताको आकर्षण निरन्तर बढेको देखिन्छ । 

यस साता सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको स्थान ओगटे पनि गत साताभन्दा कारोबार रकम भने कम भएको छ । यो साता कम्पनीको शेयरमूल्यमा भने उतारचढाब देखिएको छ । २ हजार २१६ सम्म पुगेको कम्पनीको मूल्य साताको अन्तिम दिन २ हजार ३८३ कायम भएको छ । गत साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य २ हजार २९५ कायम भएको थियो । साताको कारोबारमा कम्पनीको शेयरमूल्य प्रतिकित्त ८८ ले वृद्धि भएको हो ।