एनसीसी बैंक र गुहेश्वरी मर्चेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

एनसीसी बैंक र गुहेश्वरी मर्चेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


बैंकिङ्ग समाचार ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ ।

दुबै कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश र साधारण सभा प्रयोजनका लागि पुस २१ गते मंगलबार बुकक्लोज मिति तोकेका छन् । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहने शेयरधनीले मात्र लाभांश र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।

युनाइटेड इन्स्योरेन्स र रैराङ्ग हाइड्रोपावरले पनि मंगलबार नै साधारण सभाका लागि बुकक्लोज मिति तोकेका छन् । यी दुबै कम्पनीले भने शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् ।

एनसीसी बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १०.२६९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा राखेको छ ।

गुहेश्वरी फाइनान्सको साधारण सभाले गत आर्थिक वर्षबाट सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप ८ प्रतिशत बराबरको ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस शेयर र ३.४० प्रतिशत बराबरको २ करोड ७२ लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ । फाइनान्सले मर्जर तथा एक्वीजिशनका लागि आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिनेछ ।

दुबै कम्पनीहरुले वितरण गर्ने लाभांश पाउन सोमबार (पुस २० गते) कारोबार समयभित्र शेयरधनी कायम भैसक्नुपर्नेछ ।

एनसीसी बैंकले माघ ९ गते, केन्द्रीय कार्यालय, बागबजारमा बिहान १० बजे तेइसौँ वार्षिक साधारण सभा तथा गुहेश्वरीले पुस २८ गते मंगलबार बिहान ११ बजे गुहेश्वरी भवन हरिहर भवन ललितपुरमा बोलाएको छ ।