यस कारणले बीमा गर्नैपर्छ, नगरे के हुन्छ ?

यस कारणले बीमा गर्नैपर्छ, नगरे के हुन्छ ?


बैकिङ्ग समाचार । 
बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो ।मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि सल्बलाई रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन् सक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ ।

बीमा भनेको कुनै पनि व्यक्तिलाई आर्थिक नोक्सान हुँदा वा जोखिम हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरि कम्पनी) बीच करार सम्झौता हुन्छ । यस्तो अवस्थाको जोखिमका लागि यति रकमको जोखिम बहन गर्ने गराउने इत्यादि । हामी सबै मानिसहरु भोलिका दिनमा आउने जोखिमका विषयमा विज्ञ हुदैनौ । तर अचानक भोलि जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुनसक्छ । त्यही हुन सक्ने जोखिमको परिपूर्ती गर्नका लागि गरिने एक प्रकारको सम्झौता नै बीमा हो । बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्छ त्यसैले बीमा गर्दा अनेकौं फाइदा पाउन सकिन्छ । 

बचत र लगानी

जीवन बीमा जोखिम हस्तान्तरणको एक साधन मात्र नभई बचत र लगानी पनि हो । जीवन बीमा जोखिमहरुको बहन गर्ने वित्तीय साधन पनि हो । यद्यपि यसले जोखिम बहनभन्दा पहिले बचत गराएको हुन्छ । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन, ती व्यक्तिहरुले हरेक वर्ष प्रियिम बापत निश्चित रकम बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात कुनै घटना घट्यो भने बीमा कम्पनीहरुले क्षतिपुर्ति बहन गर्दछ । यदि बीमा गरेका व्यक्तिहरुमा तोकिएको समय अवधिसम्म कुनै घटना भएन भने बीमा कम्पनीहरुले प्रतिफलसहित उक्त रकम फिर्ता गर्दछन् । त्यसकारण बीमा एक किसिमको बचत पनि हो ।

बोनश
जीवन बीमा गर्दा धेरै फाइदा हुन्छ । इन्स्योरेन्स गराए वापत बोनस प्राप्त हुन्छ । मानिसहरुले जीवन बीमा गरेका हुन्छन् । बीमा समयअवधी सकिसकेपछि बीमीतमा कुनै घटना घटेको छैन भने बीमा गरेको कुल रकममा बोनस थप गरी रकम दिने गर्दछ । त्यसकारण बीमा गर्नु फाइदा छ ।

आर्थिक जोखिमको हस्तान्तरण

हरेक व्यक्तिको जीवनको आर्थिक मूल्य हुन्छ । अर्थात् कुनै व्यक्तिले जुन किसिमले आम्दानी गरिरहेको हुन्छ, त्यो कमाइले उसको परिवारको पालनपोषण, शिक्षादीक्षा भइरहेको हुन्छ । आम्दानीबाट उसको समाजमा केही योगदान पनि भईरहेको हुन्छ । सरकारलाई उसले कर तिरेको हुन्छ । ऊ नहुँदा यो सबै कुरामा परिवारमा आर्थिक संकटको सिर्जना हुन्छ । त्यो हुन नदिनलाई नै जीवन बीमा गर्नुपर्ने हुन्छ ।

पारिवारीक जिम्मेवारीको जोखिम बहन

मानिसले जीवन वा परिवार धान्न कमाई गरिरहेको हुन्छ । उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द हुन्छ । यसले परिवारको जीवनशैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ । त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरी परिवारले कमाउन सुरु नगरुञ्जेल बीमाले महत्वपूर्ण सहयोग पुर्याउँछ ।

भविष्यको योजना निर्माण गर्न

हाम्रो इच्छा र आकांक्षा आवश्यकताभन्दा धेरै माथि हुन्छ । भविष्यका योजनाहरु हामीसँग धेरै हुन्छन् । सोही अनुसार हामी दैनिकि चलाईरहेका हुन्छौँ । काम गरिरहेका हुन्छौँ । कुनै पनि व्यक्तिले देखेका तीनै सपना वा योजनाहरुलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बीमामार्फत भविष्यको योजना बनाउन सक्छौँ ।

मुलुकको विकासमा टेवा
हरेक राष्ट्रभक्त नेपालीले देश विकासमा आफ्नो पनि केही योगदान होस् भन्ने चाहना राख्छ । पूर्वाधार निर्माणमा सबैभन्दा बढी पूँजी जीवन बीमाले निर्माण गर्न सक्छ । देश विकासमा अलिकति पनि योगदान गर्न कसैले चाहन्छ भने जीवन बीमा उपयुक्त माध्यम हो ।

सन्तानको शिक्षा

हरेक अभिभावकले आफ्ना सन्तान शिक्षित बनुन् भन्ने चाहाना राखेका हुन्छन् । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ । परिवार चलाउन पनि व्यवस्थापन चाहिँन्छ भन्ने यसैले देखाउँछ ।

परनिर्भरता उन्मूलन

जीवन बीमा भएमा कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नो जीविका चलाउन अन्य व्यक्तिमाथि आश्रित हुनुपर्दैन ।

ऋणको भारबाट छुटकारा

कुनै व्यवसाय वा काम पर्दा मानिसले सरसापट वा ऋण लिन्छ । व्यक्तिले बैंक, वित्तीय संस्था वा व्यक्तिबाट ऋण लिने गर्दछन् । लिएको ऋण चुक्ता नहुँदै भएमा उसको परिवारका सदस्यलाई समस्या उत्पन्न हुन पुग्छ । यदि उसले आफुले लिएको ऋणको बीमा गर्यो भने कम्पनीले ऋणको जोखिम बहन गर्छ ।

जीवन सुरक्षा

इन्स्योरेन्सबाट बोनसभन्दा पनि महत्वपुर्ण पक्ष भनेको जीवनको सुरक्षा हो । जीबन बीमाले मानिसको मृत्युपछि मात्र नभएर कुनै घातक रोक लाग्यो भने पनि त्यसको उपचारका लागि पैसा दिने गर्दछ । मानिसको जीवनमा अनेक प्रकारका विपत्तिहरु आउँछन् । यी विपत्तिमध्ये सबैभन्दा ठुलो विपत्ति मृत्यु हो । रोगव्याधि, दुर्घटना वा अन्य कुनै कारणले मानिसहरुको अकाल मृत्यु हुन सक्छ । यस्तो अवस्थामा मृतकको परिवारलाई आर्थिक टेवा दिने माध्यम भनेको बीमा नै हो ।पछि यसलाई लगानीको माध्यमबाट पनि अपनाउन सकिन्छ ।