अमेरिका तीन ओटा चिनियाँ कम्पनीको शेयर डिलिस्टिङ गर्ने तयारीमा

अमेरिका तीन ओटा चिनियाँ कम्पनीको शेयर डिलिस्टिङ गर्ने तयारीमा


बैकिङ्ग समाचार ।

न्यूयोर्क स्टक एक्सचेञ्जले सेनासँग सम्बन्ध भएको आरोप लागेका तीन ओटा चिनियाँ दूरसञ्चार कम्पनीहरूलाई डिलिस्टिङ (सूचीबाट हटाउने) गर्ने तयारी गरेको छ ।

डोनाल्ड ट्रम्प प्रशासनले तारो बनाएका चाइना मोबाइल, चाइना टेलिकम र चाइना युनिकम हङ्कङका शेयरहरू अर्को सातादेखि त्यहाँ कारोबार हुने छैन। तीनै  ओटा कम्पनीले आफ्नो सबै आय चीनमा गर्ने र अमेरिकामा कुनै महत्त्वपूर्ण उपस्थिति नभएको बताइएको छ ।

सूचीबाट हटाउने प्रक्रियालाई अमेरिका र चीनबीचको बढ्दो तनावको साङ्केतिक कारबाही मानिएको छ ।

तीनै ओटा कम्पनीको शेयर अमेरिकामा विरलै कारोबार हुने गर्दछ । राज्य नियन्त्रित ती कम्पनीहरूको चीनमा दूरसञ्चार क्षेत्रमा आधिपत्य रहेको एजेन्सीहरुले बताएका छन् । यसअघि गत नोभेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सैनिक मातहतमा रहेका कुनै पनि चिनियाँ कम्पनीमा लगानी नगर्ने निर्देशनमा हस्ताक्षर गरिसकेका छन्।

उक्त निर्देशन अनुसार सैनिकसम्बद्ध वा नियन्त्रणका कुनै पनि चिनियाँ कम्पनीमा लगानी गर्न तथा शेयर खरीदविक्री गर्नसमेत अमेरिकी लगानीकर्ताहरुलाई बन्देज लगाउँछ।

न्यूयोर्क स्टक एक्सचेञ्जले जनवरी ७ देखि ११ भित्र ती कम्पनीहरूको शेयर कारोबार बन्द गर्ने बताएको छ । हाल अमेरिकाको न्यूयोर्क स्टक एक्सचेञ्ज तथा नास्डाकमा चीनका  २०० भन्दा बढी कम्पनीहरु सूचीकृत छन्। ती कम्पनीहरुको कुल बजार पूँजीकरण २ दशमलव २ खर्ब डलर रहेको छ। बीबीसी