बैकिङ्ग समाचार ।
सिटिजन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) लाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी आईआर ट्रिपल बि माइनस रेटिङ’ दिएको छ ।
इन्स्यारेन्सले सर्वसाधारणमा एक सय रुपैयाँ अंकित दरमा ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ जारी गर्नका लागि इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग गराएको हो ।
धितोपत्र बोर्डले सर्वसाधारणमा आईपीओ जारी गर्नुपुर्व प्रत्येक कम्पनीलाई अनिवार्य क्रेडिट रेटिङ्ग गराउनुपर्ने व्यवस्था गरेको छ ।
इक्राले दिएको 'ट्रिपल बि माइनस रेटिङ्ग' ले कम्पनीको आधारभुत अवस्था मध्यम रहेको संकेत गर्दछ । यस्तो रेटिङ्ग प्राप्त गर्ने कम्पनीहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहने मानिन्छन् ।
जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको इन्स्योरेन्समा संस्थापकहरुबाट १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता भैसकेको छ । ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । यस्तै आईपीओपछि कम्पनीको संस्थापक सर्वसाधारण शेयर अनुपात ७०ः३० प्रतिशत कायम हुनेछ । बीमा समितिले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पूँजी २ अर्ब कायम गरेको छ ।
इन्स्योरेन्सले आईपीओ निष्काशनका लागि गत असोजमा नै एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । आईपीओ निष्काशन गर्न इन्स्योरेन्सले धितोपत्र बोर्डमा आवेदन दिन बाँकी छ ।
इन्स्योरेन्सका देशभरि ११३ वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन् । सिटिजन लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनी हो । कम्पनीमा १५ हजार व्यक्तिगत अभिकर्ताहरु रहेका छन् । त्यस्तै, कर्पोरेट एजेण्टको संख्या भने ३० रहेको छ ।
प्रतिक्रिया