कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा असर पर्न सक्छः  गभर्नर नेपाल 

कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा असर पर्न सक्छः  गभर्नर नेपाल 


बैकिङ्ग समाचार ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले चीन लगायतका मुलुकमा तिब्र गतिमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा मात्रै नभई विश्वकै अर्थतन्त्रमा असर पर्न सक्ने बताएका छन् । 

नेपाल राष्ट्र बैंकद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै भाइरसका कारण अबको आर्थिक वृद्धिमा कठिन हुनसक्ने अनमान लगाए ।

नेपालले लगातार ३ वर्ष उच्च आर्थिक वृद्धिदर प्राप्त गरी नियन्त्रित मूल्य कायम गर्दै आइरहेको बताउँदै उनले भने, ‘चीनमा फैलिएको कोरोना भाइरसको कारण पर्यटन र चीनसँगको व्यापार रोकिएको कारण आर्थिक वृद्धि हासिल र मूल्य वृद्धि नियन्त्रण गर्न कठिन छ ।’ पछिल्लो समय प्राथमिकता प्राप्त क्षेत्रमा बैंकको लगानी बढेको कारण मुलुकले उच्च आर्थिक वृद्धि हासिलमा गर्न सफल भएको उनको भनाइ छ । 

राष्ट्र बैंकले अझै उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन बैंकहरुलाई प्रत्साहित नीति अबलम्वन गरी आन्तरिक उत्पादन बढाएर वैदेशिक व्यापार घाटा कम गर्दै मुलुकमा दिगो आर्थिक वृद्धि गर्न सहयोग उनले बताए । 

‘मुलुक संघीयतामा गएसँगै वित्तीय क्षेत्रलाई वित्तीय पहुँच विस्तार र वित्तीय स्थायित्व तथा वित्तीय सुदृढीकरण गर्न प्रोत्साहन पुगेको छ ।’ उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्रमा भुक्तानी प्रणाली तथा प्रविधिमा क्रमिक रुपमा आधुनिकिकरण गरिएको छ ।’

चीनमा फौलिएको कोरोना भाइसरले पारेको प्रभावलाई रोक्दै विगतको भन्दा बढी वित्तीय स्थायित्व कायम गर्न र आर्थिक वृद्धि हासिल गर्न केन्द्रिय बैंकले थप काम गरिरहेको उनले बताए । 

राष्ट्र बैंकद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्त सम्मेलन शुक्रबार र शनिबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा भारत, बंगलादेश, चीन, जापान, अमेरिका, जर्मनीलगायतका देशको सहभागिता रहेको छ ।