सबैभन्दा ठूलो लघुवित्त बन्ने प्रतिस्पर्धामा डिप्रोक्स, नाडेप लघुवित्तलाई गाभ्ने

सबैभन्दा ठूलो लघुवित्त बन्ने प्रतिस्पर्धामा डिप्रोक्स, नाडेप लघुवित्तलाई गाभ्ने


बैकिङ्ग समाचार ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सबैभन्दा ठूलो लघुवित्त बन्ने प्रतिस्पर्धामा नाडेप लघुवित्तलाई प्राप्ति गर्ने भएको छ ।

बुधबार २ लघुवित्तबीच प्राप्ति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका छन् ।

स्तरीय लघुवित्त सेवा प्रदान गर्नका लागि डिप्रोक्सले नाडेपलाई प्राप्ति गर्न लागेको जनाएको छ । प्राप्ति सम्झौता संगै बिहिबारदेखि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नाडेपको शेयर कारोबार रोक्का भएको छ ।

हाल डिप्रोक्स लघुवित्त को चुक्तापूँजी १ अर्ब ५४ लाख रहेको छ भने नाडेपको चुक्तापूँजी ४० करोड ४८ लाख रहेको छ । प्राप्तिको शेयर स्वाप भने डिडिए पश्चात तय गरिने बताइएको छ । हालसम्म सबैभन्दा धेरै चुक्ता पूँजी भएको एनआइसी एशिया लघुवत्तको चुक्ता पूँजी एक अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।

डिप्रोक्सको केन्द्रीय कार्यालय चितवनको भरतपूरमा छ भने नाडेपको केन्द्रीय कार्यालय धादिङको गजूरीमा छ। डिप्रोक्सले ७१ जिल्लामा १२३ शाखा कार्यालयहरुमार्फत र नाडेपले ४६ जिल्लामा ७८ शाखा कार्यालयहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।

डिप्रोक्सले दुई लाख २२ हजारभन्दा बढी सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ भने नाडेपले ८० हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

राष्ट्र बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीतिले लघुवित्तीय संस्थाहरुको मर्जरलाई प्राथमिकता दिएको थियो । दुई वित्तीय संस्था एक भएपछि लघुवित्त वित्तीय संस्थाको क्षेत्रमा सबल, सक्षम र अग्रणी लघुवित्तका रुपमा स्थापित भएर ग्राहकलाई स्तरीय सेवा र शेयरधनीहरुलाई थप प्रतिस्पर्धात्मक प्रतिफल दिन सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।