सानिमा बैंकको ऋणपत्रको आवेदन दिने अन्तिम दिन बुधबार

सानिमा बैंकको ऋणपत्रको आवेदन दिने अन्तिम दिन बुधबार


बैकिङ्ग समाचार ।

सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने भोलि (पुस १५ गते) अन्तिम दिन रहेको छ ।

बैंकले पुस १ देखि छिटोमा पुस ४ गतेसम्म आवेदन दिन पाउनेगरी ऋणपत्रको बिक्री खुला गरेकोमा निष्काशनमा ल्याइएको सबै ऋणपत्र बिक्री नभएपछि ढिलो मिति अर्थात पुस १५ गतेसम्म लम्बिएको थियो ।

इच्छुक लगानीकर्ताले पुस १५ गते बुधबारसम्म मात्र आवेदन दिन पाउन बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।

ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालय तथा मेरो शेयरको वेव तथा एप मार्फत समेत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।

बैंकले कुल प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको हो । जसमध्ये २४ लाख इकाई ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ । सर्वसाधारणमा निष्काशितमध्ये ५ प्रतिशत बराबरको ८० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्याएर १५ लाख २० हजार इकाईका लागि सर्वसाधारणबाट आवेदन मागिएको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बै।कको ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलएट’ रेटिङ प्रदान गरेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको साधन परिचालनमा देखिने असन्तुलनलाई न्यूनीकरण गर्न अनिवार्य रुपमा दीर्घकालीन ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था मौद्रिक नीतिमा गरेसँगै पछिल्लो समय ऋणपत्रको बिक्री र दोस्रो बजारमा कारोबार समेत बढ्दो क्रममा देखिएको छ ।