श्रीलंकाले एमसीसी मानेन, नेपालले के गर्छ ? 

श्रीलंकाले एमसीसी मानेन, नेपालले के गर्छ ? 


बैकिङ्ग समाचार ।

श्रीलंकाले अमेरिकासँग गरेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता यही अवस्थामा कार्यान्वयन नगर्ने भएको छ । श्रीलंकाको मन्त्रिपरिषदले उक्त सम्झौता अघि नबढाउने निर्णय गरेपछि लामो समयदेखिको विवाद टु‌ंगो लागेको हो ।

नेपालमा पनि एमसीसीलाई लिएर विवाद भइरहेका बेलामा श्रीलंकाले यस्तो निर्णय गरेको हो । तर,  श्रीलंकाले संशोधनका लागि छलफल भने गर्न सकिने बताएको छ ।

श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले एमसीसीबारे अध्ययन गर्नका लागि ४ सदस्यीय समिति गठन गरेका थिए । 

मन्त्रिपरिषदका सह प्रवक्ता बन्दुल गुनावार्देनेले एमसीसीमा अमेरिकन सरकारसँग हस्ताक्षर नहुने बरु संशोधनका लागि छलफल भने गर्न सकिने बताए ।

नेपालमा पनि एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्नेमा तीव्र विवाद भइरहेका बेलामा श्रीलंकाले भने हस्ताक्षर नगर्ने भनेपछि सबैको ध्याकेन्द्रीत भएको छ । सरकारको नेतृत्व गरेको नेकपामा एमसीसी अनुमोदनको विषयमा विवाद छ । नेकपाले यसबारेमा अध्ययन गर्नका लागि तीन सदस्यीय समिति गठन गरेको थियो ।

समितिले २० दिन लगाएर केही बुँदाहरु संशोधन गर्नुपर्ने सुझाव सहित प्रतिवेदन बुझाएको थियो । जसमा यथास्थितीमा संसदबाट अनुमोदन गर्नु नहुने सुझाव दिइएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा। युवराज खतिवडाले भने एमसीसी कुनै पनि हालतमा अनुमोदन हुने बताइसकेका छन् ।

नेपालले एमसीसी कम्प्याक्टमा हस्ताक्षर गरिसकेपछि संसदबाट अनुमोदन भएको छैन । जसले गर्दा हालसम्म काम अगाडि बढ्न सकेको छैन । संसदबाट एमसीसी कम्प्याक्ट अनुमोदन नभएपछि अमेरिकि सरकारले गर्ने भनेको सहयोग समेत रोकिएको छ । एमसीसी अन्तर्गत नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान आउने छ । आयोजनाको काम सुरु गरेको ५ वर्षमा सक्नुपर्ने व्यवस्था यसममा रहेको छ ।