पछिल्लो एक महिनामा ७४ अर्ब कर्जा विस्तार

पछिल्लो एक महिनामा ७४ अर्ब कर्जा विस्तार


बैकिङ्ग समाचार ।

कोभिडका कारण थला परेको मुलकको अर्थतन्त्र पछिल्ला केहि महिना यता क्रमश चलायमान हुन थालेपछि बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ । पछिल्लो चार साताको तथ्यांक हेर्दा यसअवधिमा वाणिज्य बैंकहरुले निक्षेप संकलन भन्दा बढी कर्जा विस्तार गरेका छन् ।

मंसिर महिना सुरु भएयता बैंकहरुमा कर्जाको माग ह्वात्तै बढेको छ भने बैंकहरुले समेत कर्जा विस्तारलाई जोड दिएका छन । संचालनमा रहेका २७ वाणिज्य बैंकले पछिल्लो एक महिनामा ७४ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । जबकी यो अवधिमा बैंकहरुमा ५५ अर्ब मात्र निक्षेप थपिएको छ ।

बैहरुले मंसिरको अन्तिम दुई साता र पुसको पहिलो दुई सातमा गरेर ५५ अर्ब निक्षेप संकलन गरेका छन भने ७४ अर्ब कर्जा विस्तार गरेका हुन । पछिल्लो एक महिनामा बैंकहरुले निक्षेप संकलन भन्दा १९ अर्ब बढी कर्जा प्रवाह गरेका हुन । पुसको पछिल्लो १० दिनमा मात्रै बैंकहरुले ३५ अर्ब निक्षेप उठाएर ३९ अर्ब कर्जा प्रवाह गरेका छन ।

नेपाल बैंकर्स संघका अनुसार पुस १० गतेसम्म वाणिज्य बैंकहरुले ३७ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसअवधिमा बैंकहरुले ३१ खर्ब ४० अर्ब कर्जा विस्तार गरेका छन् ।

चालु आर्थिक वर्ष सुरु भएयता वाणिज्य बैंकहरुमा २ खर्ब ४२ अर्ब निक्षेप थपिएको छ भने यस अवधिमा बैंकहरुले २ खर्ब ३७ अर्ब कर्जा प्रवाह गरेका छन । गत असारको अन्तसम्म बैंकहरुमा ३४ खर्ब ८७ अर्ब निक्षेप रहेको थियो । सो अवधिसम्म बैंकहरुले २९ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेका थिए ।

यतिबेला बैंक तथा वित्तीय संस्थामा प्रशस्त तरलता रहेको र ब्याजदर समेत सस्तो भएपछि नयाँ व्यवसाय गर्नेहरुले लगानीका लागि उपयुक्त अवसरको रुपमा लिएकाले पनि बैंकहरुमा कर्जाको माग बढेको देखिन्छ । साथै राष्ट्र बैंकले कोभिड प्रभावितका लागि ल्याएका सहुलियत कार्यक्रमहरुले पनि बैंकहरुको कर्जा बढेको हो ।

कोरोना भाइरसको प्रभाव कम हुँदै गएपछि बैंकहरुमा कर्जाको माग आउन थालेको हो । पछिल्लो समय अर्थतन्त्र चलायमान बन्दै गएको छ । जनजिवन तथा व्यापार व्यवसाय पहिलेकै अवस्थामा फर्कर्ने चरणमा रहेकाले आर्थिक गतिविधि समेत बढेपछि बैंकहरुले कर्जा विस्तार गर्न थालेका छन ।