बैकिङ्ग समाचार ।
कोरोना बीमा गर्ने करिब १६ हजार बीमितले भुक्तानी पाएका छन् । बीमा समितिले उपलब्ध गराएको पुस १० गते शुक्रबारसम्मको तथ्यांक अनुसार कोरोना बीमा गर्ने १५ हजार ८७९ बीमितले भुक्तानी रकम पाएका हुन् ।
अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानीलाई तिव्रता दिन निर्देशन दिए पछि बीमा समितिले कोरोना बीमा दावी भुक्तानीको कामलाई तिव्र रुपमा अघि बढाउन थालेको छ।
कोरोना बीमा दावी भुक्तानी प्रक्रियामा ढिलाई भएको भन्दै अर्थ मन्त्रालयले बीमा समितिलाई दावी भुक्तानी प्रक्रियालाई तिव्रता दिन निर्देशन दिएको थियो ।
निर्जीवन बीमा कम्पनीहरुले हालसम्म १५ हजार ८७९ दावीवापत साढे एक अर्ब भन्दा बढी रकम भुक्तानी गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याकं अनुसार निर्जीबन बीमा कम्पनीहरुले एक अर्ब ५४ करोड ९३ लाख २५ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् ।
समितिले उपलब्ध गराएको सो तथ्यांकअनुसार २९ हजार २७० वटा दाबी परेकोमध्ये १५ हजार ८७९ वटा दाबी भुक्तानी भएको समितिले जनाएको छ ।
समितिका अनुसार दाबीका लागि चाहिने आवश्यक कागजात नपुगेका २ हजार ५३ वटा दाबीका केश सम्बन्धीत बीमा कम्पनीमा नै फिर्ता पठाईएको छ । २ हजार ५१३ वटा फाइल स्वीकृतिका लागि प्रकृयामा रहेका छन् ।
यसैगरी, कोरोना दाबीका लागि परेको आवेदनमध्ये ३ हजार ५५५ वटा फाइल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी रहेको छ । त्यस्तै, ८७२ वटा फाइल थप अध्ययनका लागि पठाइने तयारीमा रहेको समितिले जनाएको छ ।
समितिका अनुसार ७९ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ भने ४ हजार ३१९ वटा फाइल अध्ययनको प्रकृयामा रहेका छन्।
प्रतिक्रिया