प्रभु लाइफको आईपीओ शुक्रबार बिहान ११ बजे बाँडफाँड गरिने

प्रभु लाइफको आईपीओ शुक्रबार बिहान ११ बजे बाँडफाँड गरिने


बैकिङ्ग समाचार ।

प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधरणमा निष्कासन गरेको प्राथमिक शेयर पुस १० गते शुक्रबार बिहान बाँडफाँड हुने भएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा बिहान ११ बजे शेयर बाँडफाँड हुनेछ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म कूल ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । सो मध्ये सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३/३ लाख कित्ता छ्ट्टाएर ५४ लाख कित्ता शेयरका लागि सर्वसाधरणबाट आवेदन माग गरिएको थियो ।

कम्पनीको आईपीओमा सर्वसाधारणबाट माग भएको तुलनामा ५.४२ गुणा बढी कित्ताको आवेदन परेको छ । जसको आधारमा प्रभु लाइफको आईपीओ ५० प्रतिशत भन्दा कम आवेदकले मात्रै पाउने भएका छन् । कम्पनीको आईपीओमा उच्च आवेदन पर्दा आधाभन्दा बढी आवेदकको हात खाली हुने भएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका अनुसार कम्पनीको आईपीओमा १० लाख ८२ हजार १४१ आवेदन परेका छन् । सो संख्याको आवेदनबाट २ अर्ब ९२ करोड ८७ लाख ७१ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख ८७ हजार ७१० कित्ता शेयरको आवेदन परेको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार प्रत्येक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । यसअनुसार प्रभु लाइफको आईपीओ ५ लाख ४० हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् । कूल आवेदकमध्ये ५ लाख ४२ हजार १४१ जना आवेदको हात खाली हुनेछ । यो कुल आवेदकको ५०.१० प्रतिशत हुन आउँछ ।