प्रभु बैंकको लाभांश पाउन बिहीबारसम्म शेयरधनी बन्नुपर्ने

प्रभु बैंकको लाभांश पाउन बिहीबारसम्म शेयरधनी बन्नुपर्ने


बैकिङ्ग समाचार ।

प्रभु बैंकको लाभांश सुरक्षित गर्न पुस ९ गते बिहीबारसम्म शेयरधनी बन्नुपर्ने देखिएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १० गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नुका साथै लाभांश पाउने भएकाले बिहीबारसम्म शेयरधनी बनेका लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।

प्रभु बैंकको मंसिर २१ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्तावित १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२५ लाभांश अनुमोदन गराउनेछ । जसका लागि बैंकको पुस १ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले पुस २६ गते आइतबार केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा बिहान ११ बजे १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

यसका साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि रहेका छन् ।

कोरोना भाइरस संक्रमणका कारण बैंकले साधारण सभामा शेयरधनीलाई भर्चुअल रुपमा सभामा उपस्थित गराउने जनाएको छ ।