दुई कम्पनीको साढे ६१ करोडको शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

दुई कम्पनीको साढे ६१ करोडको शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक


बैकिङ्ग समाचार ।

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको ३ लाख बढी कित्ता संस्थापक शेयरको बिक्री खुला गरेको छ ।

बैंकले नागरिक लगानीकोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानीकोषको २ लाख २ हजार ५६० तथा नेशनल लाइफको १ लाख १४ हजार ३०६ कित्ता संस्थापक शेयर बेच्न लागेको हो ।

बैंकले नागरिक लगानीकोषको लिलामीको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २ हजार ७४० र नेशनल लाइफको प्रतिकित्ता ५२० रुपैयाँ तोकेको छ । बैंकले यी शेयर बिक्रीबाट न्यूनतम ६१ करोड ४४ लाख ४५ हजार रुपैयाँ आर्जन गर्नेछ ।

सो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज अर्थात पुस ५ गतेदेखि १० गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

बोलपत्र आवेदन फाराम एनआईसी एशिया क्यापिटल, बबरमहल, र एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, थापाथलीका साथै विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट १०० रुपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ।

बोलपत्र आवेदन फाराममा लगानीकर्ताले आफुले लिन चाहेको शेयर संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ।

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता देखि सोभन्दा बढी १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।