लुम्बिनी विकास बैंकको साधारण सभा पुस २६ मा, यी प्रस्ताव हुँदैछन् पारित

लुम्बिनी विकास बैंकको साधारण सभा पुस २६ मा, यी प्रस्ताव हुँदैछन् पारित


बैकिङ्ग समाचार ।

लुम्बिनी विकास बैंक लिमिटेडले यही पुस २६ गते केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौँमा तेह्रौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

सो सभा बिहान ११ बजे शुरु हुनेछ। कोभिड १९ जोखिमका कारण नेपाल सरकारले तोकेको सीमाभित्र मात्र शेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने भएकाले शेयरधनीहरुको उपस्थितिका लागि भर्चुअल माध्यमको व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

सो सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने रकम १९ करोड १ लाख ४१ हजार ८२१ रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने रकम ८ करोड १४ लाख ८९ हजार ३५१ रुपैयाँ ८६ पैसा बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक समूहको रिक्त स्थानमा बाँकी कार्यकालको लागि नयाँ सञ्चालक केशव खतिवडा नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १४ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।