नेपाल क्लियरिङ्ग हाउसको सहकार्यमा एनआईसी एशिया बैंकले सुरु गर्यो ‘कर्पोरेट–पे’ प्रणाली

नेपाल क्लियरिङ्ग हाउसको सहकार्यमा एनआईसी एशिया बैंकले सुरु गर्यो ‘कर्पोरेट–पे’ प्रणाली


बैंकिङ्ग समाचार ।

एनआईसी एशिया बैंकले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ ।

यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

बैंकले आफ्ना संस्थागत ग्राहकलाई प्रदान गर्ने उक्त डिजिटल प्रणालीमार्फत बैंकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्नेछन्। उक्त प्रणाली मार्फत कनेक्ट आइपिएस वा एनसिएचएल आइपीएस भुक्तानी कारोबारहरू गर्न सकिने सुविधा रहेको छ ।

यस ‘कर्पोरेट–पे’ प्रणाली सुरुवात गर्नका लागि ग्राहकले बैंकबाट आवश्यक प्रकृया पूरा गरी आवेदन दिन सक्नेछन । यस प्रणाली सुरुवात गरेपश्चात् प्रयोगकर्ताहरू आफैले तोकिएको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्ने बैंकले जनाएको छ । यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टि लियर अथेन्टिकसिएनको व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र पाउने सुरक्षित बाटोको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

साथै ग्राहक महानुभावहरूले आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरू समेत आबद्धगरी कारोबार गर्न सकिने सुविधा रहेको छ । यस प्रणालीको प्रयोगले बैंकको शाखामा नपुगी विभिन्न भुक्तानीहरू अनलाईनबाट नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरूलाई अझ सहज हुनेछ ।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अपनारहेको यस बैंकले समयअनुरुप विभिन्न डिजिटल बैंकिङ्गका योजनाहरूका साथ आम जनमानस माझ आफ्नो बलियो उपस्थिति जनाइसकेको छ । सोही रणनीति अनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस ‘कर्पोरेट–पे’ प्रणालीमार्फत संस्थागत ग्राहक महानुभावहरूले सहज एवं सरल रुपमा सुविधा उपभोग गर्न सक्नेछन ।

बैंकले मुलुकभर रहेका ३३३ शाखा कार्यालयहरू, ४७० एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दे आएको छ ।