२ अर्बको ऋणपत्र जारी गर्दै एनएमबि बैंक

२ अर्बको ऋणपत्र जारी गर्दै एनएमबि बैंक


बैंकिङ्ग समाचार ।

एनएमबि बैंकले दीर्घकालीन स्रोत परिचालनका लागि दुई अर्ब रुपैयाँ बराबरको ‘८%, ७ वर्ष एनएमबि ऋणपत्र २०८४/८५’ निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशन गर्न बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा मंसिर २३ गते निवेदन पेश गरेको हो ।

बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई चयन गरेको छ ।

बैंकले जारी गर्न अनुमति मागेको ७ वर्ष अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा पाउनेछन् ।

बैंकले जारी गर्ने २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ८ लाख कित्ता सर्वसाधारणका लागि र ६० प्रतिशत अर्थात १२ लाख कित्ता प्राइभेट प्लेसमेन्ट (विभिन्न संघ संस्था) मार्फत बिक्रीमा आउनेछ ।

बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव बढेपछि आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति प्रस्तुत गर्दै तत्कालीन गभर्नर चिरञ्जीवी नेपालले २०७७ असार मसान्तभित्र सबै वाणिज्य बैंकले अनिवार्य रूपमा चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेका थिए । 

तर कोरोना भाइरस संक्रमणका कारण केन्द्रीय बैंकले उक्त समयसीमा बढाएर २०७९ असार मसान्त पर्याएको छ । केन्द्रीय बैंकले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा प्रस्तुत गर्दै २०७७ असारसम्म आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत ऋणपत्र जारी गरिसक्नुपर्ने समयावधि २०७९ असार मसान्त कायम गरेको हो ।

ऋणपत्रमार्फत बैंकहरुले दीर्घकालीन प्रकृतिको पुँजी जुटाइरहेका छन् । हाल बैंक तथा वित्तीय संस्थामा दीर्घकालीन मुद्दती निक्षेप धेरै कम मात्र रहेको छ । त्यसमध्ये पनि २ वर्ष वा त्यसभन्दा बढी अवधिको मुद्दती निक्षेप दश प्रतिशतभन्दा कम मात्र छ । यस्तो अवस्थामा बैंकलाई लामो समयका लागि स्रोत जुटाउन ऋणपत्र राम्रो विकल्प बनेको छ । ऋणपत्रको बिक्रीबाट संकलित रकम शतप्रतिशतसम्म कर्जा प्रवाहको लागि उपयोग गर्न पाउने सुविधा राष्ट्र बैंकले दिएको छ ।