सोमबार १७ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

सोमबार १७ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


बैंकिङ्ग समाचार । 

नेपाल राष्ट्र बैंकले १७ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । सरकारलाई आवश्यक पर्ने स्रोत (आन्तरिक ऋण मार्फत) जुटाउन केन्द्रीय बैंकले अनलाईन बिडिङ्ग मार्फत सोमबार दिउँसो २ बजे सो रकम बराबरको बिल जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको र ९१ दिन अवधिको १२ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

सोमबार बोलकबोल प्रकृयाबाट बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल मंगलबार जारी हुनेछ । मंगलबार जारी हुने २८ दिन अवधिको ट्रेजरी बिल २०७७ पुस २१ गते र ९१ दिन अवधिको २०७७ फागुन २५ गते परिपक्व हुनेछ ।

बोलकबोल मार्फत खरी गर्न सकिने ट्रेजरी बिलको लागि बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारणहरुले समेत आवेदन गर्न सक्नेछन् ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले खर्च गर्नु परेकाले थप पूँजी आवश्यक भएकाले पुरानो ऋणपत्रको सावाँ भुक्तानी नगरी नवीकरण गर्न लागेको हो । सरकारलाई पूँजी आवश्यक भएपछि केन्द्रीय बैंकले छोटो तथा लामो अवधिको सरकारी ऋणपत्र जारी गरिदिन्छ ।

सरकारी ढुकुटीमा राजश्व कम उठ्ने तथा कोरोना भाइरसको असरका कारण आर्थिक गतिविधि ठप्प भएपछि सरकारले स्वस्थ्य संकटसँग लड्न तथा अर्थतन्त्रलाई चलायमान बनाइराख्न राहतको कार्यक्रम समेत ल्याउनु परेको अवस्था छ । त्यसैले पनि पछिल्लो समयमा सरकारले अन्तरिक ऋण उठाउन जोडबल गरिरहेको छ ।

सो ऋणपत्रको व्याजदर भने बोलकबोल मार्फत निर्धारण हुने कन्द्रीय बैंकले जनाएको छ । यसभन्दा अघि मंसिर १५ गते केन्द्रीय बैंक निष्काशन गरेको ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल्सको औसत व्याजदर ०.३४९९ प्रतिशत कायम भएको थियो । जसमा अधिकतम ०.३९०० र न्यूनतम ०.२९९८ प्रतिशतको आवेदन परेको राष्ट्र बैंकले जनाएको छ। उक्त ट्रेजरी बिल्समा २० अर्ब ७६ करोड अर्थात ६.६३३३ गुणा बढी माग भएको थियो।