नेप्सेका सीईओलाई पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधीले भेटे, बजार सुधारका लागि ध्यानाकर्षण


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीलाई नेपाल पुँजीबजार लगानीकर्ता संघले पुँजी बजार सुधारका लागि सुझाव दिएका छन्। संघले सीईओ सुवेदीलाई आम लगानीकर्ताको हित संरक्षण, निष्पक्ष प्रतिस्पर्धी मूल्य निर्धारण, कारोबार प्रणालीको विश्वसनीयता, बजारको तरलता अभिवृ‌द्धि तथा लगानीकर्ताको विश्वास पुनर्स्थापना गर्न आग्रह गरेको हो। साथै, उनलाई नेपालको पूँजी बजारलाई पारदर्शी, प्रतिस्पर्धी, प्रविधिमैत्री, विश्वसनीय एवं लगानीकर्तामैत्री बनाउनु आजको अपरिहार्य आवश्यकता रहेको संघले जनाएको छ।

नेपालको पूँजी बजारको दिगो विकास र आधुनिकीकरणका लागि नेप्से परिसूचक गणना प्रणालीलाई वास्तविक कारोबारयोग्य शेयरको अवस्थासमेत प्रतिबिम्बित हुने गरी पुनरावलोकन तथा सुधार गर्न, अन्तर्राष्ट्रियस्तरको सुरक्षित र भरपर्दो कारोबार प्रणाली विकास गर्ने, दोस्रो बजारमा लगानीकर्ताको सहज पहुँच तथा कारोबार स्वतन्त्रता सुनिश्चित गर्न, बजारको तरलता र कारोबार विस्तारका लागि आधुनिक वित्तीय उपकरण तथा संस्थागत सहभागिता प्रवदे‌धन गर्ने, शेयर राफसाफ तथा भुक्तानी प्रणालीलाई थप छिटो र प्रभावकारी बनाउन एवं बजारको पारदर्शिता, सुशासन र लगानीकर्ता संरक्षणलाई सुदृढ गर्न आवश्यक नीतिगत तथा व्यावहारिक सुधारका लागि विशेष ध्यानाकर्षण गराएको छ।

त्यसैगरी, संघले सीईओलाई उनको कार्यकालमा नेपालको पूँजी बजारको इतिहासमा सुधार, आधुनिकीकरण, पारदर्शिता र लगानीकर्ताको विश्वास पुनस्थापनाको महत्वपूर्ण कार्यकालका रूपमा स्थापित गर्न सुझाव दिएको छ।