काठमाडौं – कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अभियानअन्तर्गत थप ७ जना पुरुष र १२ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले मंसिर ४ गते राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका–६, लेकसाइड क्षेत्रमा विशेष निगरानी तथा चेकजाँच गरेको थियो।
सो क्रममा मादक पदार्थ सेवन गरी झै–झगडा गर्ने ७ जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। त्यस्तै, चेकजाँचका क्रममा १२ वटा सवारीसाधन नियन्त्रणमा लिइएकोमा ९ वटा सवारीसाधनका चालकलाई मादक पदार्थ सेवन (मापसे) सम्बन्धी कारबाही गरिएको छ भने बाँकी ३ वटा सवारीसाधन वडा प्रहरी कार्यालय बैदाममा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ।
पर्यटकलाई अनावश्यक दुःख, हैरानी तथा दुर्व्यवहार गर्ने, झै–झगडा गर्ने र अनैतिक तथा अवाञ्छित गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने उद्देश्यले प्रहरीले उक्त अभियान सञ्चालन गर्दै आएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अभियान सञ्चालन भएयता हालसम्म १५९ जना पुरुष र ८ जना महिला गरी कुल १६७ जना तथा ४३३ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ।





About Us
प्रतिक्रिया