काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले काठमाडौं उपत्यकालाई केन्द्रबिन्दु बनाएर सञ्चालन गरेको विशेष अपरेसनका क्रममा ८८ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। ब्यूरोका अनुसार मंसिर ३० गते सञ्चालन गरिएको लागुऔषध अपराधविरुद्धको विशेष अपरेसनका क्रममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ र ललितपुर महानगरपालिका–१५ बाट उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का २७ वर्षीय समिर तामाङ, दोलखाको शैलुङ गाउँपालिका–२ का ३० वर्षीय दिनेश वाइबा, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ का ३० वर्षीय राज रसाइली र भारतको बिहार, मधुवनी जिल्लाका २२ वर्षीय कमलेश कुमार साह रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ८८ ग्राम खैरो हेरोइन, दुई थान डिजिटल तराजु, नगद दुई लाख ८० हजार रुपैयाँ र चार थान मोबाइल बरामद गरेको जनाएको छ। अनुसन्धानका क्रममा पक्राउ परेका राज रसाइली ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका बस चालक रहेको खुलेको ब्यूरोले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया