विद्यालयको पुस्तकालय अनुदान हिनामिना गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

'बिगो १७ लाख ४१ हजार ४४६ रुपैयाँ कायम'


काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका–२ स्थित श्री मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदान रकम हिनामिना गरेको आरोपमा तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा जिल्ला शिक्षा कार्यालयबाट विद्यालयलाई प्राप्त पुस्तकालय अनुदानको रकम गैरकानुनी रूपमा सापटी लिएको देखाई मिलेमतोमा बाँडेर खर्च गरेको र हालसम्म फिर्ता नगरेको अनुसन्धानबाट खुलेको छ। आरोपपत्र दायर गरिएकामा तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिचन्द्र जैसी, समिति सदस्य जनकबहादुर नेपाली, प्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धिरेन्द्रबहादुर सिंह रहेका छन्।

आयोगमा आर्थिक वर्ष २०७१/०७२ देखि २०७३/०७४ सम्मको पुस्तकालय अनुदान रकम विद्यालयका पदाधिकारी तथा कर्मचारीले सापटी लिएको तर फिर्ता नगरेको भन्दै उजुरी परेको थियो। सोही उजुरीमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७३/०७४ को अनुदान रकममा अनियमितता भएको देखिएको आयोगले जनाएको छ।

आयोगका अनुसार चारै जनाले आपसी मिलेमतो गरी सरकारी तथा सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याउने बदनियतले कानुनविपरीत विद्यालयको रकम बाँडफाँट गरी हिनामिना गरेको देखिएको छ। यसबाट कुल १७ लाख ४१ हजार ४४६ रुपैयाँ हिनामिना तथा हानिनोक्सानी भएको आयोगको दाबी छ।

आयोगले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा मुद्दा दायर गरेको छ। आयोगले उक्त कसुरमा बिगो १७ लाख ४१ हजार ४४६ रुपैयाँ कायम गरी ऐनको सम्बन्धित व्यवस्थाअनुसार कैद, बिगोबमोजिम जरिवाना तथा हिनामिना भएको रकम असुलउपर गर्न मागदाबी लिइ आज विशेष अदालत, काठमाडौंमा दायर गरेको छ।