लोकन्थलीबाट ८४ लाखभन्दा बढीको सुनचाँदी र नगद चोरी गर्ने पाँच जना पक्राउ


काठमाडौं – सुनको गरगहना चोरी गर्ने र खरिद बिक्री गर्ने पाँचलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङका सिजल तामाङ भन्ने राजन स्याङ्बो, दोलखाकी रिया कार्की, सुनसरीका प्रकाश कडुवाल, काठमाडौंका रोमन श्रेष्ठ रनुवाकोटका जित बहादुर विश्वकर्मा रहेका छन्। 

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित एक घरबाट सुनका गरगहना, ल्यापटप र नगदसहित ८४ लाख ७६ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूले घरमा कोही नभएको मौका छोपी प्रवेश गरेर सुनका गरगहना, ल्यापटप र नगद चोरी गरी फरार भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरीका गरगहना तथा नगदसहित पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।

उनीहरूबाट सुनको तिलहरी एक थान, सुनको सिक्री एक थान, सुनको बाला एक थान, सुनका औँठी चार थान, सुनको झुम्का एक जोर, गणेशको सुनको लकेट एक थान, सुनको टुक्रा एक थान र चाँदीका औँठी दुई थान बरामद गरेको छ। त्यस्तै, डेल कम्पनीको ल्यापटप एक थान, विभिन्न कम्पनीका मोबाइल तीन थान, फलामको औजार एक थान र नेपाली नगद दुई लाख ७० हजार रुपैयाँ पनि बरामद भएको छ। बरामद सुनका गरगहनाको कुल तौल ६ तोला ८९ लाल रहेको प्रहरीले जनाएको छ।