काठमाडौं – नेपाल जग्गा तथा आवास विकास महासङ्घको व्यवस्थापनमा भूमि व्यवस्थापन तालिम केन्द्र, धुलिखेलद्वारा सञ्चालित १५ दिने ‘जग्गा प्रशासन, नाप नक्सा तथा व्यावसायिक विकाससम्बन्धी तालिम’ सम्पन्न भएको छ। गत असोज ६ गतेदेखि सञ्चालन भएको उक्त तालिमको समापन समारोह भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलको प्रमुख आतिथ्यमा काठमाडौँमा सम्पन्न भएको हो। समारोहमा तालिम संयोजक तथा महासङ्घका सचिव घनश्याम पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि सचिव मदन भुजेलले तालिम आयोजना तथा व्यवस्थापनका लागि आयोजक र महासङ्घलाई धन्यवाद दिँदै रियल इस्टेट क्षेत्रका लागि तालिम महत्त्वपूर्ण रहेको बताए। जग्गा प्रशासन जटिल विषय भएकाले यस क्षेत्रमा निरन्तर सिकाइ र तालिम आवश्यक रहेको भुजेलले बताए। रियल इस्टेट व्यवसायमा हदबन्दीका कारण जग्गा तथा घर बिक्रीमा देखिएका जटिलता समाधानका लागि प्रयास भइरहेको उल्लेख गर्दै उनले कित्ताकाटको समस्या तथा गुठी जग्गाबाट उत्पन्न समस्यासमेत समाधान गरी व्यवसायलाई थप व्यवस्थित र सम्मानित बनाउन मन्त्रालयले काम गरिरहेको जानकारी दिए। यस्ता तालिमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।
नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा व्यवसायमा विगत ८–१० वर्षदेखि देखिँदै आएको हदबन्दीको समस्या तथा कित्ताकाटको जटिलताका कारण व्यवसायीहरू प्रभावित हुँदै आएको बताए। देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ४२१ स्थानीय तहले मात्र जग्गा वर्गीकरण सम्पन्न गरेकाले बाँकी क्षेत्रमा कित्ताकाटको समस्या कायमै रहेको घिमिरेले बताए। घरजग्गा कारोबारको लाइसेन्स प्राप्तिका लागि यस किसिमको तालिमलाई अनिवार्य बनाउनुपर्नेमा जोड दिँदै उनले रियल इस्टेटसम्बन्धी सबै कम्पनीलाई महासङ्घको सदस्यता लिन आग्रह गरे।
भूमि व्यवस्थापन तालिम केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशीले मालपोत नियमावली संशोधन भएपछि यस्ता तालिमको आवश्यकता थप महसुस भएको बताए। सुरुमा ६ हप्ताको तालिम सञ्चालन गर्ने अवधारणा रहे पनि त्यसलाई परिमार्जन गरी १५ दिनमा सम्पन्न गरिएको जानकारी दिँदै जोशीले आवश्यकता र सुझावका आधारमा तालिमलाई आगामी दिनमा थप परिमार्जन गर्न केन्द्र तयार रहेको बताए। मन्त्रालयले रियल इस्टेटसम्बन्धी छुट्टै कार्यविधि तथा नीति निर्माणका लागि गृहकार्य गरिरहेको जानकारीसमेत जोशीले दिए।
मन्त्रालयका सहसचिव तथा विशिष्ट अतिथि गणेशप्रसाद भट्टले रियल इस्टेटसम्बन्धी कानुन संशोधनको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै प्रशिक्षार्थीहरूले भूमि प्रशासनसम्बन्धी उपयोगी ज्ञान हासिल गर्न पाएकोमा खुसी व्यक्त गरे। त्यसैगरी, तालिम निर्देशक रामकुमार सापकोटाले एक वर्षअघि परिकल्पना गरिएको तालिमले मूर्तरूप पाएको बताए। प्रशिक्षार्थीहरूको नियमित उपस्थिति, प्रस्तुतीकरण तथा उत्साहजनक पृष्ठपोषणका कारण तालिम अपेक्षाभन्दा बढी प्रभावकारी भएको सापकोटाले बताए।
प्रशिक्षार्थीको उत्साहजनक प्रतिक्रिया
प्रशिक्षार्थीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै इन्जिनियर सुरक्षा काफ्लेले १५ दिनको अवधिमा विज्ञ प्रशिक्षकबाट व्यावहारिक तथा उपयोगी ज्ञान हासिल गर्ने अवसर प्राप्त भएको बताइन्। अर्का प्रशिक्षार्थी बाबुराम अधिकारीले यस्ता तालिम ५–६ वर्षअघि नै सञ्चालन हुनुपर्ने भए पनि ढिलै भए पनि सम्पन्न हुनु सराहनीय रहेको बताए। तालिमबाट सैद्धान्तिकसँगै व्यावहारिक ज्ञानसमेत प्राप्त भएको भन्दै अधिकारीले महासङ्घ र तालिम केन्द्रप्रति आभार व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा तालिम केन्द्रका कार्यकारी निर्देशक तथा समापन समारोहका सभापति जनकराज जोशीले तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने मन्त्रालयका सचिव, महासङ्घका पदाधिकारी, तालिम केन्द्रका निर्देशक तथा कर्मचारी, प्रशिक्षक र सम्पूर्ण प्रशिक्षार्थीलाई धन्यवाद व्यक्त गरे।






About Us
प्रतिक्रिया