काठमाडौं – मन्त्री श्रेष्ठका अनुसार नेपाल विद्युत प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गतका शाखा तथा प्रशाखामा हाल ६५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन्। ती काउन्टर सञ्चालनमा मात्रै वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने गरेको उनले बताएका छन्।
मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत काउन्टर सञ्चालनमा हुने खर्च घटाउन र जनशक्तिलाई अन्य सेवामा परिचालन गर्न डिजिटल भुक्तानीलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। उनका अनुसार काउन्टरमा हुने ठूलो भीडलाई डिजिटल भुक्तानीमार्फत घटाउन सकिन्छ। डिजिटल भुक्तानीले नागरिकको समय र आवतजावतको खर्च बचत गर्नुका साथै नगद कारोबार घटाएर वित्तीय पारदर्शिता र सुरक्षा बढाउने उनको भनाइ छ।
मन्त्री श्रेष्ठले आफ्नो परिवार, इष्टमित्र, छरछिमेकी तथा आफूले चिनेका नागरिकलाई डिजिटल भुक्तानीबारे जानकारी दिन र प्रयोग गर्न प्रोत्साहित गर्न आग्रह गरेका छन्। विशेषगरी डिजिटल भुक्तानी गर्न नजान्ने बुबाआमा, ज्येष्ठ नागरिक तथा आफन्तलाई सिकाउन उनले आग्रह गरेका छन्।उनले भनेका छन्,’तपाईंले दिएको केही मिनेटको समयले उहाँहरूको हरेक महिनाको समय बचाउन सक्छ।’
मन्त्री श्रेष्ठले डिजिटल भुक्तानीलाई केवल भुक्तानी प्रणाली परिवर्तन गर्ने विषयका रूपमा नहेरी नागरिकको समय बचत, सेवा सहजता, वित्तीय पारदर्शिता र सार्वजनिक स्रोतको प्रभावकारी उपयोगसँग जोडिएको अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। उनले सम्भव भएसम्म आजैदेखि डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न र अरूलाई पनि त्यसका लागि सहयोग गर्न नागरिकसँग आग्रह गरेका छन्।






About Us
प्रतिक्रिया