तेलको मूल्य र ऋणपत्रको प्रतिफल बढ्दा अमेरिकी शेयर बजार ओरालो


काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको होर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रस्ताव अस्वीकार गरेपछि तेलको मूल्य र अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल बढ्दा सोमबार अमेरिकी शेयर बजारमा गिरावट आएको छ। अमेरिकी सरकारी ऋणपत्रको प्रतिफलमा पनि वृद्धि जारी रह्यो। १० वर्षे ऋणपत्रको प्रतिफल सात आधारबिन्दुले बढेर ५ दशमलव २५ प्रतिशत पुगेको छ। यो सन् २०२६ कै उच्च तथा सन् २००७ को मध्ययताकै उच्चस्तर हो। ३० वर्षे ऋणपत्रको प्रतिफल ५ दशमलव ६ प्रतिशत नजिक पुगेको छ भने दुई वर्षे ऋणपत्रको प्रतिफल पाँच आधारबिन्दुभन्दा बढी बढेर ४ दशमलव ९१६ प्रतिशत पुगेको छ।

होर्मुज जलडमरूमध्य पुनः खोल्ने इरानको सातदिने प्रस्ताव ट्रम्पले अस्वीकार गरेपछि सुरुआती कारोबारमा तीव्र रूपमा बढेको कच्चा तेलको मूल्य भने केही घटेको छ। पश्चिम टेक्सस इन्टरमिडिएट कच्चा तेल करिब ९२ दशमलव ६ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भयो भने ब्रेन्ट कच्चा तेलको मूल्य ० दशमलव ९२ प्रतिशतले बढेर १०५ डलरभन्दा माथि पुगेको छ।

बढ्दो मुद्रास्फीतिको जोखिमका कारण अमेरिकी केन्द्रीय बैंकले थप ब्याजदर वृद्धि गर्न सक्ने सम्भावनाले पनि लगानीकर्ताको चिन्ता बढाएको छ। बजारमा अक्टोबर २८ मा हुने बैठकमा ब्याजदर थप ० दशमलव २५ प्रतिशत बिन्दुले बढ्ने सम्भावना करिब ७० प्रतिशत रहेको अनुमान गरिएको छ। कम्पनीगत रूपमा, एनभिडियाको शेयर मूल्य १ दशमलव ६८ प्रतिशतले बढेको छ। कम्पनीको सञ्चालक समितिले थप १५० अर्ब अमेरिकी डलर बराबरको शेयर पुनर्खरिद स्वीकृत गरेको छ। यससँगै कम्पनीको बाँकी शेयर पुनर्खरिद अधिकार २३५ अर्ब डलर पुगेको छ।

यता बोइङको शेयर मूल्य करिब ७ प्रतिशतले घटेको छ। कम्पनीले ७३७ म्याक्स विमानको अवतरण प्रक्रियालाई असर गर्ने सफ्टवेयर समस्याबारे जानकारी दिएपछि शेयर मा दबाब परेको हो। मेटा प्लेटफम्र्सको शेयर मूल्य पनि करिब ४ दशमलव ८ प्रतिशतले घटेको छ। कम्पनीले नयाँ उद्यम कृत्रिम बुद्धिमत्ता अभियानको नेतृत्व गर्न मङ्गोडिबीका प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गरेको घोषणा गरेपछि मङ्गोडिबीको शेयर मूल्यमा तीव्र गिरावट आएको थियो।

त्यस्तै, टेस्लाको शेयर मूल्य करिब ४ प्रतिशतले घटेको छ। कम्पनीले रोडस्टरको नयाँ संस्करण सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेपछि शेयरमा दबाब परेको हो। स्पेसएक्सको शेयर मूल्य पनि दुई प्रतिशतभन्दा बढी घटेको छ, यद्यपि उसको स्टारसिप रकेटले १४औँ परीक्षण उडानका क्रममा पहिलोपटक कक्षमा पुग्न सफलता हासिल गरेको छ। यसै साता बुधबार अगस्ट महिनाको व्यक्तिगत उपभोग खर्चसम्बन्धी मूल्य सूचकाङ्क र शुक्रबार सेप्टेम्बर महिनाको रोजगारीसम्बन्धी प्रतिवेदन सार्वजनिक हुने भएकाले लगानीकर्ताको ध्यान आगामी आर्थिक तथ्याङ्कमा केन्द्रित भएको छ।