काठमाडौं – अहिले नेपालको क्यापिटल मार्केटमा भएको प्रविधिको प्रयोग टिप्पणीयोग्य छ। बजारका सहभागीको हिसाबले कुरा गर्दा पहिला क्यापिटल मार्केटको साइज कत्रो थियो, हामीले प्रविधि प्रयोग गर्न सक्ने अवस्था थियो कि थिएन भन्ने पनि हेर्नुपर्छ। मर्चेन्ट बैंकहरुले प्रविधिमा लगानी गर्न सके वा सकेनन् भन्ने पाटो छुटाउन हुँदैन। यसलाई नियाल्दा पुँजी बजार निकै विस्तार भएको देखिन्छ। हालसम्म आइपुग्दा मर्चेन्ट बैंकरले ग्राहकको लागि मात्रै नभएर आन्तरिक दक्षताका लागि पनि लगानी गरिरहेका छन्।
बजारको विस्तार हुँदा मर्चेन्ट बैंकरको क्षमतामा पनि सुधार आएको छ। अहिले हामीले जुन तरिकाले आईपीओ निष्काशन गर्छौं। एउटा आईपीओमा ३०/३५ लाखले आवेदन दिन सक्ने अवस्था र ५/६ अर्ब क्यापिटल सहजै उठाउन सक्ने अवस्था छ। यसमा महत्त्वपूर्ण भूमिका प्रविधिको छ। यसलाई लिएर अघि बढ्ने हो भने सर्ट सेलिङ, इन्ट्रा डे सहजै गर्न सक्छौँ। यो भनेको प्रविधिको कुरा हो। तर, प्रविधि प्रगतिमा उल्लेख्यरुपमा भइसकेको छैन, केही कामहरू बाँकी छन्।

यसका लागि हामीले आफ्नो ठाउँबाट पहल पनि गरिरहे पनि एउटा प्लेटफर्मबाट अर्को प्लेटफर्ममा जोड्न सकिएको छैन। जोड्ने क्षमता पनि छ। तर, जोड्दा गर्दा नियमकीय अनुमति आवश्यक हुन्छ। नियामकले त्यसका लागि अनुमति दिएमा भने काम गर्न सकिने अवस्था छ। हामीले सीडीएससी र नेपाल स्टक एक्सचेन्जसँग यस विषयमा छलफल पनि गरिरहेका छौँ। बुक बिल्डिङ आउँदा पनि पैसा तोक्ने विषयलाई अनलाइन गर्ने भन्ने कुरा पनि छ। साना साना कमजोरी रेगुलेटरी बुझाइका कारण पनि कहिलेकाहीँ समस्या देखिएका छन्।
अहिले सेवाग्राहीलाई हामी डिपीमा जोडिरहेका छौँ। यससँगै बैंकिङ्ग पनि छ। बैंकिङ्गको डेटालाई डिपीको डेटासँग डिजिटलाइजेशन गराैँ भनिरहेका छौँ। तर, भौतिक फर्म भन्ने सोचाई अझै कायमै छ। भौतिक फर्मलाई पनि सेबोनले आवश्यक छैन भन्ने हो भने सजिलै हुन्छ। प्रयास गर्ने हो भने सहजै डेटा डिजिटल बनाउन सकिन्छ। हामीले धेरै भएन भनिरहँदा यस विषयमा अत्यधिक काम भइरहेका पनि छन्। तर, प्रविधिलाई जोड्न भने बाँकी छ। एआई अङ्गालिसकेको समयमा हाम्रो अपरेटिङमा पनि सहज भइसकेको अवस्था छ। यसलाई अथेन्टिकेशन गर्न बाँकी छ।
अहिले आईपीओ निष्कासनका लागि पनि खास समस्या छैन। सीडीएससीमा तथ्यांक हुने हुँदा अलर्टमेन्ट पनि सिडिएससीले नै गरे सहजीकरण हुने थियो। अहिले हामीले भेण्डरबाट आईपीओको अलर्ट गरिरहेका छौँ। अलर्टमेन्ट गरेको डेटालाई फेरि सीडीएससीमा पठाउनुपर्ने अवस्था छ। सीडीएससीलाई पनि विभिन्न आन्तरिक समस्याका कारण सफ्टवेयरको विकास गर्न असहज छ। समयमा नै सफ्टवेयरको विकास गर्न नसक्दा सीडीएससीलाई कहिलेकाहीँ असहज भएको हामीले देख्ने गरेका छौँ।

बजारमा सामान्यतया नेपाल स्टक एक्सचेन्जको प्लेटफर्मका कारण पनि समस्या आइरहेको छ भने बजारमा मागमा कमी आउँदा पनि केही समस्या आइरहेको छ। २०११ तिर हेर्ने हाइड्रोपावर कम्पनीहरूले आईपीओ ल्याउने गरेका थिएनन्। पहिला निजी क्षेत्रबाट मात्रै चल्ने गरेका थिए। इप्पानले हाइड्रोपावरले पनि क्यापिटलका लागि शेयर मार्केट हेर्नुपर्ने हो कि भन्ने विषयमा बहस भएको थियो। यसबाहेक कर्पोरेट बण्ड अहिलेको जारी गर्न नपाउने भन्ने होइन।
तर, अझै पनि केही नियामकीय स्पष्टता आवश्यक छ। हालसम्म कर्पोरेट बण्ड जारी गर्न कुनै पनि कम्पनी तयार भने भएका छैनन्। कम्पनीहरूले कर्पोरेट बण्ड लगानीको फरक औजार बन्न सक्छ भनेर हेर्ने गरेको छैन। बहसहरू हुने गरे पनि बण्डलाई क्यापिटल स्टक्चरमा राख्ने गरेका छैनन्। त्यसको लागि हामीले पनि केही मेहनत गर्नुपर्ने हो। क्यापिटल स्ट्रक्चरमा क्यापिटल बण्डले पनि सहजीकरण गर्न सक्छ भनेर बुझाइमा केही कमी छ। जसकारण पनि क्यापिटल बण्डले ठाउँ पाउन सकेको छैन।
अहिलेको अवस्थामा सार्वजनिक निष्कासन, शेयर रजिस्टर, म्यूचअल फण्ड र शेयर व्यवस्थापन र लगानीकर्ताको डिपी खोल्नु पनि मर्चेट बैंकरको ठुलो बिजनेस हो। बाहिरबाट हेर्दा जारी भएका शेयरको व्यवस्थापन जस्तो मात्र लागे पनि त्यसको प्रभाव अर्थतन्त्रको ग्रोथमा समेत पर्ने गरेको छ। एउटै विषयमा पनि धेरै काम गर्न सक्ने हुँदाहुँदै पनि बजार तयार नहुँदा अथवा नियामकीय व्यवस्था नहुँदा तथा मर्चेन्ट बैंकरले त्यसलाई बुझाउन नसकेको कारण भने खुम्चिनु परेको अवस्था छ। तर, यतिमा नै मर्चेन्ट बैंकर सीमित हुनुपर्छ भन्ने होइन। शेयर बजारमा अरू विषयमा पनि हामीले फड्को मारिसकेका छौँ।
यतिबेला शेयर बजारमा एनआरएनए पनि थप्ने विषय आइरहेको छ। यसमा एनआरएनलाई सहभागी गराउँदा प्रणालीलाई पनि अपग्रेड गराउनुपर्ने अवस्था छ। यद्यपि एनआरएनको सबै मागहरू पूरा गर्न सक्ने अवस्था छैन। यस्तो अवस्थामा पनि साधारण लगानी गर्न चाहनेलाई सहयोग गर्न सक्ने अवस्था छ। नियामकीय केही बाधाहरू छन्। तर, त्यसलाई फुकाएर अघि बढ्नुपर्नेछ। हामी सेवा दिने निकायको रूपमा छौँ। यतिबेला मर्चेन्ट बैंकर एनआरएनहरुलाई बाहिरको ‘स्ट्यान्ड’अनुसार सेवा दिन सक्ने अवस्थामा छौँ।
(नेपाल क्यापिटल मार्केट डिस्कोर्शको तेस्रो सत्र ‘प्रविधि तथा नवप्रवर्तनः नेपालको पुँजी बजारको भविष्य’ मा एनएमबी क्यापिटलका सीईओ वैद्यले राखेको धारणाबाट)






About Us
प्रतिक्रिया