कोरोना भाइरसको असर, सुनको भाउ प्रतितोला ८० हजार नाघ्यो

कोरोना भाइरसको असर, सुनको भाउ प्रतितोला ८० हजार नाघ्यो


बैकिङ्ग समाचार ।

फागनु १२ गते सोमबार नेपाली बजारमा सुनको तोलामै १ हजार ५०० रुपैयाँ बढेर ८० हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायीका महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८० हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै तेजावी सुन पनि प्रतितोला १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला ८० हजार रुपैयाँमा पुगेको छ। चाँदी प्रतितोला ५ रुपैयाँ बढेर ९२० रुपैयाँमा निर्धारण भएको छ।

कोरोना भाइरसका कारण पछिल्लो समय सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा उकालो लाग्न थालेपछि त्यसको असरले नेपालमा पनि सुनको मूल्यले आकाश छोएको हो। फागुन १ गते छापावाल सुनको भाउ प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएकोमा १२ गते आइपुग्दा ४ हजार ३०० रुपैयाँले बढिसकेको छ । 

फागुन ११ गते आइतबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेर नयाँ ऐतिहासिक रेकर्ड कायम गरेकोमा सोमबार थप १ हजार ५०० रुपैयाँ बढेको हो।

आइतबार छापावाला सुनको भाउ प्रतितोला ७८ हजार ८०० रुपैयाँ पुगेको छ। यस्तै तेजावी सुन पनि प्रतितोला ७०० रुपैयाँले बढेर ७८ हजार ५०० रुपैयाँमा पुगेको छ। चाँदी प्रतितोला ५ रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भएको थियो।