अबको बजार शेयर कारोबारमा मात्रै सीमित हुने छैनः अध्यक्ष भट्ट


काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गाेपाल भट्टले नेपालको पुँजी बजारलाई व्यापक र आधुनिक बनाउँदै प्राथमिक बजारमा वास्तविक मूल्य पहिचान (प्राइस डिस्कभरी)को प्रणाली विकास गर्न लागिएको बताएका छन्।बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ लाई सम्बोधन गर्दै अध्यक्ष भट्टले उनले आगामी एक वर्षभित्र नेपालको पुँजी बजारमा धेरै नयाँ काम पहिलोपटक देखिने दाबी गरे। पुँजी बजारमा भइरहेको रूपान्तरणलाई संस्थागत गर्दै लैजाने उनको भनाइ छ।

उनले नेपालको वित्तीय प्रणाली अहिलेसम्म बैंक तथा वित्तीय संस्था, बीमा र पेन्सन फण्डजस्ता संस्थागत मध्यस्थकर्तामा बढी निर्भर रहेको बताए। तर, पूँजी बजारमार्फत बचतकर्ता र पूँजी आवश्यक पर्ने क्षेत्रबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सकिने उनले बताए। उनका अनुसार पुँजी बजारलाई शेयरको दोस्रो बजारमा हुने कारोबारमा मात्र सीमित गर्नु हुँदैन। बण्ड तथा ऋणपत्र बजारलाई समेत विस्तार गर्दै उद्योग तथा व्यवसायले बैंकमा मात्रै निर्भर नभई बजारबाटै आवश्यक पूँजी जुटाउन सक्ने वातावरण बनाउनुपर्ने उनले बताए।

सेबोन अध्यक्षले प्राथमिक बजारको मुख्य उद्देश्य सही मूल्य पहिचान गर्नु भए पनि नेपालमा यसको अभ्यास अझै पर्याप्त विकसित हुन नसकेको बताए। त्यसैले योग्य संस्थागत लगानीकर्ताको विकास गरी प्राथमिक बजारमा जारी हुने शेयर, बण्डलगायत धितोपत्रको सही मूल्य निर्धारण गर्ने प्रणाली विकास गर्न लागिएको उनले जानकारी दिए।

धितोपत्र ऐन संशोधन तथा नयाँ कानुनी ढाँचा निर्माणका लागि सरकारसँग सहकार्य भइरहेको बताउँदै उनले यसको परिणाम छिट्टै देखिने दाबी गरे। उनले दोस्रो बजारलाई पनि नयाँ दृष्टिकोण र पूर्वाधारसहित विकास गर्नुपर्ने बताए। दोस्रो बजारले प्राथमिक बजारमा जारी भएका शेयर, बण्ड तथा अन्य धितोपत्रलाई तरलता प्रदान गर्नुका साथै निरन्तर मूल्य पहिचानको काम गर्ने उनको भनाइ छ।

सेबोन अध्यक्षका अनुसार अब पुँजी बजारलाई स्टार्टअप, साना तथा मझौला उद्यम (एसएमई) देखि ठूला उद्योगसम्मका कम्पनीले पूँजी जुटाउन सक्ने प्रणालीका रूपमा विकास गरिँदैछ। साना कम्पनीलाई छुट्टै प्लेटफर्ममार्फत बजारमा ल्याई विस्तार हुँदै गएपछि मुख्य बोर्डमा प्रवेश गराउने व्यवस्था विकास गर्ने योजना रहेको उनले बताए।

उद्यमशीलताको हरेक चरणमा रहेका कम्पनीले बजारबाट पूँजी जुटाउन र लगानीकर्ताले आफ्नो जोखिम वहन क्षमताअनुसार विभिन्न वित्तीय उपकरणमा लगानी गर्न सक्ने वातावरण निर्माण गर्नु अहिलेको सुधारको मुख्य उद्देश्य रहेको उनले बताए। ‘हामी पूँजी बजारलाई व्यापक रूपमा अगाडि बढाउँदैछौँ,’ सेबोन अध्यक्षले भने, ‘अबको बजार शेयर कारोबारमा मात्रै सीमित रहने छैन।’

अध्यक्ष डा. गाेपालकाे मन्तव्यमा आधारित

सबैलाई धन्यवाद। आजको यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट अतिथिहरू, महानुभावहरू, पत्रकार मित्रहरू तथा सहभागीहरू! म सबैलाई एक-एक गरी सम्बोधन गर्न चाहन्थेँ, तर समयको पावन्दीलाई ध्यानमा राखेर पत्रकार मित्रहरूलगायत उपस्थित सबैमा एकमुष्ट नमस्कार व्यक्त गर्छु।

“सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्॥”

हाम्रा ऋषिमुनिहरूले भन्नुभएको छ ‘सबैजना सुखी होऊन्, सबैजना निरोगी होऊन्, सबैको कल्याण होस् र कसैलाई पनि दुःख नहोस्।’ यो हाम्रो सनातन परम्पराका ऋषिहरूको वाणी हो।

हाम्रो सनातन परम्परामा ऋषिहरूले मानव जीवनका लागि चारवटा पुरुषार्थ (मार्ग) निर्दिष्ट गर्नुभएको छ, ‘अर्थ, धर्म, काम र मोक्ष’।

यसमा ‘अर्थ’ अर्थात् पहिलो सुखको आधार हो। म पनि यसै अर्थसँग जोडिएको मान्छे हुँ। अर्थ भन्नाले, सबैजना सुखी हुनका लागि अर्थोपार्जन गर्नुहोस्, पैसा कमाउनुहोस् भन्ने बुझिन्छ। आधुनिक भाषामा भन्दा कमाउने कुरा हो। यसरी कमाउनुहोस् कि तपाईंको र सबैको जीवन सुखमय बनोस्।

ऋषिहरूले मानिसलाई अर्थोपार्जन गर्न भन्नुभएको छ। मानव जीवनमा ‘अर्थ’ को ठूलो भूमिका छ। तर कमाएको पैसा कसरी व्यवस्थापन गर्ने? आर्थिक जीवन कसरी चलाउने? किनभने यो चारवटा मार्गमध्ये एउटा आधार मात्र हो। दोस्रो मार्ग ‘धर्म’ हो अर्थात् कमाएको पैसालाई धर्म र परोपकारमा पनि खर्च गर्नुहोस्। हामीले गर्ने दान वा स्वैच्छिक सहयोग नै धर्मको बाटो हो। कमाएको छ र नै दिन सकिएको छ, नकमाई त कसैले दिन सक्दैन।

तेस्रो मार्ग ‘काम’ हो अर्थात् कमाएको धन दान मात्र नगर्नुहोस्, त्यसलाई उपभोग (भोग) पनि गर्नुहोस्। आफ्नो जीवनमा कमाउनुहोस् र त्यसैबाट सुन्दर तथा सुखी जीवन भोग्नुहोस्।

चौथो मार्ग हो ‘मोक्ष’। यो अवधारणा पाश्चात्य दर्शनमा छैन, केवल हाम्रो पूर्वीय सनातन दर्शनमा मात्र छ। कमाइसकेपछि र भोगिसकेपछि कसरी निष्काम भएर भोग गर्ने भन्ने कुरा यसले सिकाउँछ। मोक्ष भनेको निष्काम भोग हो । अर्थात् कर्म गर्नुहोस्, तर फलको आशा नराख्नुहोस्।

यी चार दर्शनमध्ये अहिले हामी ‘अर्थ’ को बाटोमा छौँ। यो पूँजी बजार र ‘कन्फरेन्स’ (छलफल) जुन आयोजना गर्नुभयो, यो वास्तवमा धितोपत्र बोर्ड (सेबोन) ले गर्नुपर्ने काम थियो। तर, राज्यको एउटा महत्त्वपूर्ण अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रले यो आँट र साहस देखायो। उहाँहरूले हामीसँग सहयोग माग्नुभयो। ‘हामी कसरी सहयोग गर्न सक्छौँ’ भन्ने एउटा दह्रो आँट लिएर आउनुभयो।

हामीले पनि भन्यौँ “हुन्छ, आउनुहोस्, अब बेला भएको छ। हामीले सञ्चार (कम्युनिकेट) गर्नुपर्थ्यो, त्यो काम तपाईंहरू गर्दै हुनुहुन्छ। हाम्रा नीति, कार्यक्रम र कार्यशैलीका विषयमा व्यापक छलफल होस्” भनेर हामीले राजुजीहरूलाई समर्थन गर्यौँ। आज यो प्रयास सफल भएको महसुस गरेको छु। यो विशाल उपस्थिति नै त्यसको प्रमाण हो। राजुजी, तपाईंको अभियान सफल भइरहेको छ।

धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेपछि मैले केही महत्त्वपूर्ण आधार (पिलर) हरू तय गरेको छु। हिजो मात्र राष्ट्र बैंक र सम्पूर्ण वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग धितोपत्र बोर्डको अध्यक्षको पहिलो पटक औपचारिक अन्तरक्रिया भयो। राजुजीसँग कुरा हुँदै गर्दा उहाँले पनि पूँजी बजारमा यो ‘पहिलो पटक’ भएको बताउनुभयो। नेपालको पूँजी बजारमा धेरै कुराहरू रूपान्तरण (ट्रान्ससेन्डिङ) हुँदैछन् र आगामी एक वर्षभित्र धेरै नयाँ कामहरू पहिलो पटक भएको देख्नुहुनेछ।

धेरैले सोधिरहेका छन् “के हुँदैछ? के गर्न खोजिरहेका छौँ?” समयको सीमा भएकाले म छोटोमा केही कुरा राख्न चाहन्छु।

पूँजी बजार वा वित्तीय प्रणालीमा दुईवटा मुख्य पक्ष हुन्छन् । एउटा घाटा/न्यूनता भएको क्षेत्र (डेफिसिट सेक्टर) र अर्को बचत/बढोत्तरी भएको क्षेत्र (सरप्लस सेक्टर)। वित्तीय प्रणालीले यो सरप्लस र डेफिसिट सेक्टर अर्थात् पैसा चाहिने र पैसा भएकाहरूका बिचमा मिलन गराउने काम गर्छ।

पैसा चाहिने (डेफिसिट) सेक्टरमा यहाँ प्रतिनिधित्व गर्ने CNI, FNCCI वा नेपाल चेम्बर अफ कमर्स जस्ता उद्योगी-व्यवसायीका संस्थाहरू र सरकारी क्षेत्र पर्छन्। उहाँहरूलाई विकास र विस्तारका लागि पूँजी चाहिएको छ। अर्कोतर्फ लगानीकर्ताहरूको क्षेत्र छ, जो सरप्लस सेक्टर हो।

यो घाटा पूर्ति गर्ने दुईवटा संयन्त्र हुन्छन्: बैंकिङ क्षेत्र, बिमा क्षेत्र, पेन्सन फण्ड जस्ता संस्थागत मध्यस्थकर्ताहरू यसमा पर्छन्। हाम्रो अहिलेसम्मको प्रणाली धेरैजसो यसैमा निर्भर छ। पूँजीको आवश्यकता बैंक तथा वित्तीय संस्था, बिमा वा पेन्सन फण्डमार्फत पूर्ति गरिँदै आएको छ। यो अर्को रूपमा… एउटा त हाम्रा आफ्नै प्राईभेट मार्केट र सेकेन्डरी मार्केटसम्बन्धी विषयमा विभिन्न समीक्षा समिति (रिभ्यु कमिटी) हरू बनाएका छौँ, जसमा विभिन्न संघ-संस्था (एसोसिएसन) हरूको प्रतिनिधित्व रहेको छ। त्यहाँबाट हामी परामर्श (कन्सल्टेसन) गर्छौँ। त्यो चाहिँ उहाँहरूले नै अपनत्व (ओनरशिप) लिने गरी गर्छौँ र उहाँहरूले नै यसको अपनत्व लिनुहुन्छ।

दोस्रो किसिमको सहभागिता धारणा पत्र (कन्सल्टेसन पेपर) का रूपमा हुन्छ। हामी जति पनि नयाँ नीति-नियम ल्याउँदैछौँ, तिनलाई सार्वजनिक (पब्लिकली) रूपमा ल्याउँछौँ। यसमा विशिष्ट सुझाव/प्रतिक्रियाको अपेक्षा रहन्छ, जहाँ तपाईंहरू सबै सहभागी हुन सक्नुहुन्छ। हामी सात बुँदे (सेभेन पोइन्ट) विषयहरूको कुरा गरिरहेका छौँ र त्यसमार्फत अर्को किसिमको सहभागिता र अपनत्व दिने प्रयास गरिरहेका छौँ। त्यसपछि मात्रै हाम्रा जति पनि नीति-नियमहरू आउँछन्, तिनलाई हामी कार्यान्वयन (इन्फोर्स) र लागू गर्छौँ।

यो सम्पूर्ण प्रक्रियाको अन्तिम उद्देश्य समग्र पूँजी बजारको पारिस्थितिक प्रणाली (इकोसिस्टम) लाई नै रूपान्तरण (ट्रान्सफर्मेसन) गर्नु हो। हामी सिङ्गो इकोसिस्टमलाई नै परिवर्तन गर्न खोजिरहेका छौँ । त्यो प्रणालीलाई अनुशासित, सुशासित र जोखिममा आधारित दृष्टिकोण (रिस्क-बेस्ड एप्रोच) बाट अगाडि बढाउन चाहन्छौँ।

अब हाम्रो नियमन प्रणालीमा एउटा नयाँ दृष्टिकोण आइरहेको छ। हामीले नियमन (रेगुलेसन) मा नयाँ परिवर्तन ल्याएका छौँ । हाम्रो नियमन अब जोखिममा आधारित (रिस्क-बेस्ड) र प्रविधिमा आधारित (टेक्नोलोजी-बेस्ड) हुनेछ। त्यसैले प्रविधिमार्फत पनि बजारलाई अनुशासित बनाउने प्रयास गरिरहेका छौँ। बोर्ड (सेबोन) बाहिरका धेरै पक्षहरूलाई पनि यसमा समेट्दैछौँ, जसले गर्दा ढिलासुस्ती (रेड-टेपिज्म) अन्त्य हुनेछ।

नियमन जस्तै सुपरिवेक्षण (सुपरभिजन) पनि जोखिममा आधारित र प्रविधिमा आधारित (रिस्क-बेस्ड र टेक्नोलोजी-बेस्ड) हुनेछ। यी दुवै कुराका लागि हामी हाम्रा विभागहरूलाई सोहीअनुसार स्रोत-साधन र प्रविधियुक्त (इक्विप) बनाउन खोजिरहेका छौँ।

यी सबै प्रक्रियाका विषयमा आगामी दिनमा धेरै चर्चा हुने नै छ। विभिन्न छलफल र संवादका कार्यक्रमहरू तय भएका छन्। मैले अहिले केवल एउटा दिशा/मार्गचित्र मात्र दिन खोजेको हो। यी सबै विषयमा आगामी छलफलहरूमा थप कुरा हुनेछ।आयोजकका तर्फबाट ढकालजीले मलाई पनि एउटा सानो सत्र (सेसन) राख्नुभएको छ, जहाँ हामी यी दुवै विषयमा आगामी दिनमा विस्तृत चर्चा गर्ने नै छौँ।अहिलेलाई म यति भन्न चाहन्छु— आगामी दिनमा पूँजी बजार एउटा स्पष्ट दिशा र दीर्घकालीन सोच (भिजनरी पार्ट) का साथ अगाडि बढोस् भनेर नै मैले यो छोटो चर्चा गरेको हुँ। भविष्यका र पछिल्ला सत्रहरूमा यी विषयमा व्यापक छलफल हुने नै छ भन्ने आशा व्यक्त गर्दै, अहिलेका लागि म यो मञ्चबाट बिदा हुन्छु।

धेरै-धेरै धन्यवाद!